अचानक किन पुगे ट्रम्प अफगानिस्तान ?

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरप्राइज भिजिटमा अफगानिस्तान पुगेका छन्। अमेरिकामा मनाइने थ्यांक्सगिभिङ डेका अवसरमा ट्रम्प बिहीबार साँझ अचानक अफगानिस्तानको बाग्राम एयरफिल्डमा अवतरण भएका थिए।

अमेरिकी एयर फोर्सको प्रेसिडेन्सियल जहाजमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइन र सीमित गुप्तचरहरू थिए। पूर्वजानकारीबिना आइपुगेका ट्रम्पले त्यहाँ रहेका फौजलाई टर्कीको मासु दिएका थिए र उनीहरूसँगै रातिको खाना खाएका थिए।

अमेरिकी फौजलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले उनीहरूले अफगानिस्तानमा निकै राम्रो काम गरिरहेको र आफू यहाँ आउन पाउँदा खुसी भएको बताए।

राष्ट्रपति ट्रम्पको यो पहिलो अफगानिस्तान भ्रमण हो।  केही महिनाअघि अमेरिकाले तालिबान विद्रोहीहरूसँग गरेको शान्ति वार्ता निष्कर्षमा पुग्न नसकेर टुंगिएको थियो। ट्रम्पले तालिबानसँगको वार्ता फेरि सुचारू हुने बताए।

‘पहिला हामीले युद्धविराम हुनुपर्छ भन्यौं त्यही भएर उनीहरूले मानेनन्, अहिले उनीहरू नै युद्धविराम चाहिरहेका छन्, अब त्यसले काम गर्छ होला,’ ट्रम्पले भने। गत साता केही तालिबान नेताहरूले पनि अमेरिकी अधिकारीहरूसँग दोहामा वार्ता हुन लागेको बताएका थिए।

अचानक अफगानिस्तान पुगेका ट्रम्प र अफगानी राष्ट्रपति असरफ घानीबीच पनि भेटवार्ता भएको छ। विदेशमा रहेका अमेरिकी फौजले व्ययभारमात्र थपेको बताउँदै आएका ट्रम्पले राष्ट्रपति बनेपछि अमेरिकी सैनिक रहेका द्वन्द्वग्रस्त मुलुक भ्रमण गरेको दोस्रो पटक हो। यसअघि उनी सन् २०१८को क्रिसमसमा इराकमा रहेका आफ्ना सैनिक भेट्न पुगेका थिए।