प्रहरी नै तीनछक्क हुने गरी बैंकबाट यसरी निकालियो २० लाख

कलेज पढ्ने केटाहरुको ग्याङसँग सयौं चेक,एटीएम

काठमाडौं । विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौं रुपैयाँ निकाल्ने ६ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आइतबार राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजवाहाकले आफ्नो खाताबाट पटक–पटक गरी १९ लाख ९९ हजार रुपियाँ निकालेको मोबाइल म्यासेज आएको तर आफूले कसैलाई कुनै चेक नदिएको भन्ने सूचना प्रहरीलाई दिएपछि महानगरी प्रहरी परिसर काठमाडौंको विशेष टोली परिचालित भएको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा उनकोे नयाँ चेक बुक बाहिरबाट निकाल्न सफल भई त्यसबाट पैसा निकाल्न सफल भएको देखिएको थियो । सोमबार फेरि उनकैको चेकबाट एक जना व्यक्ति जनता बैंक न्युरोड शाखामा आएपछि प्रहरी निजलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा समूह नै पक्राउ परेको हो ।

पक्राउ पर्नेका काभ्रेपलान्चोक पाँचखाल–३ घर भई काठमाडौं कालीमाटी बस्ने १९ वपर्षी सुभाष श्रेष्ठ, सोही स्थानका १९ वर्षकै कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे २१ वर्षीय अन्जन बराल, बागलुङ्ग गलकोट नगरपालिका–३ घर भई काठमाडौं बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल, सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौं सुविधानगर ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् । उनीहरुको साथबाट साढे १८ लाख नगद, विभिन्न व्यक्तिहरूको नागरिकताको प्रतिलिपि २९०पाना , विभिन्न व्यक्तिको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ थान रहेको छ ।

त्यस्तै विभिन्न प्रकार हस्ताक्षर नमुना र विभिन्न ब्यक्तिको नाम उल्लेख गरिएको डायरी २ थान, विभिन्न व्यक्तिको खाता खोल्न फोटो टासेको तयारी फाराम थान ३०० , १९५ जनाको विभिन्न व्यक्तिको बैक स्टेटमेन्ट, जनता बैकबाट बिभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक थान १६ र काटिएको अवस्थाको चेकबुक थान ४१, ज्योति विकास बैकबाट अन्जन बरालको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक ,एभरेष्ट बैकबाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको चेकबुक थान २० र काटिएको अवस्थाको चेकबुक थान ३, माछापुच्छ्रे बैंकबाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको चेकबुक थान १७ र काटिएको अवस्थाको चेकबुक थान २, मुक्तिनाथ विकास बैक।बाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक थान ४१ र नकाटिएको चेकबुक थान १, एनआईसी एशिया बैकबाट बिभिन्न व्यक्तिको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक थान ६८ रहेको छ ।

त्यस्तै विभिन्न ब्यक्तिको फोटो ८२५ थान, एनआईसी एशिया बैंकको एटीएम कार्ड थान ८२, तथा विभिन्न बैकको एटीएम कार्ड थान ७, विभिन्न ब्यक्तिको नाममा रकम उल्लेख गरी हस्ताक्षर गरेको अवस्थाका विभिन्न बैकबाट विभिन्न ब्यक्तिका नाममा जारी भएका चेक ३२९ थान, अन्य बैंकसंग सम्वन्धित विभिन्न डकुमेन्ट हरु अन्दाजी २ बोरा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले विभिन्न व्यक्तिको चेकमा रहेको सिग्नचर चोरी, सोही व्यक्तिको नाममा चेक हराएको निवेदनसमेत दिई नयाँ चेक बुक निकाल्ने र सिग्नेचर मिलाई लाखौं पैसा निकाल्ने सफल भएको देखिएको प्रहरी अनुन्धान खुलेको छ । उनीहरुले विभिन्न व्यक्तिको भिसा कार्ड बनाएर प्रयोगमा ल्याएको समेत प्रहरीले जनाएको छ ।

यस घटनामा बैंकका कर्मचारीको लापबाही वा मिलोमतो हो भन्ने विषयमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई पाटन उच्च अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।