नेपाली सेनाको कलेजले बढी लिएको शुल्क फिर्ता गर्ने

सेनाले चलाएको मेडिकल कलेज छैटौँ र सातौँ ब्याचका विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न सकारात्मक भएको छ । सोमबार विद्यार्थीसँगको छलफलमा कलेजका पदाधिकारीले शुल्क विवाद समाधान गर्न तयार रहेको बताएका छन् । सेनाको कलेजले पनि एमबिबिएसमा बढी शुल्क लिएको विषयमा नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएपछि कलेजका कार्यकारी निर्देशक, प्रिन्सिपलसहितको उपस्थितिमा छलफल भएको थियो ।

एक विद्यार्थीका अनुसार कार्यकारी निर्देशक डा. नगेन्द्र केसीले शुल्कसम्बन्धी समस्या समाधानमा आफू सकारात्मक भएको बताएका थिए । केसीले शुल्कको समस्या समाधान गर्न आफ्नो मात्र भूमिका नहुने भएकाले माथिल्लो तहमा पनि रिपोर्टिङ गरेको बताएका थिए । प्रिन्सिपल डा. देवेन्द्र खत्रीले सोमबार विद्यार्थी जम्मा गरी नयाँ पत्रिका पढ्न लगाएर छलफल गरेका थिए ।

तर, कलेजका एकाउन्टेन्ट हरि वाग्लेको भूमिका नकारात्मक भएको विद्यार्थीको गुनासो छ । छलफलमा सहभागी एक विद्यार्थीले भने, ‘एकाउन्टेन्ट हरि वाग्लेले विद्यार्थीले यस्तो गर्न हुन्न, पैसा ठूलो कुरा होइन भन्दै अनुशासनका कुरा सिकाउनुभयो, उहाँले किन नकारात्मक भूमिका खेल्नुभएको हो, आश्चर्यमा परेका छौँ ।’

आर्मी मेडिकल कलेजले छैटौँ र सातौँ ब्याचका एमबिबिएसका विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क असुलेको छ । आठौँ ब्याचपछि भने निर्धारण गरेको शुल्क लिएको छ । कलेजले छैटौँ ब्याचबाट करिब आठ लाख र सातौँ ब्याचबाट करिब चार लाख रुपैयाँ बढी उठाएको छ । नयाँ पत्रिकामा खबर छ ।