अझै घट्ने सम्भावना छैन प्याजको मूल्य

भाउ अझै चर्को हुनसक्ने

काठमाडाैँ,हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ थोकमै पुगेको छ । खुद्रा बजारमा प्याजको भाउ २०० देखि २२० रुपियाँसम्म कारोबार भइरहेको छ ।

उपत्यकावासी प्याजका लागि भारतमै परनिर्भर हुनुपर्ने र भारतले नेपाल प्याज पठाउन रोक लगाएपछि व्यापारीले अवैधानिक बाटोबाट ल्याएको प्याज झन् महँगो भएको हो ।

समितिका अनुसार अघिल्लो वर्ष यो बेलामा कालीमाटीमा मात्रै भारतबाट दैनिक ९५ देखि १०० टन प्याज आयात हुने गरेकोमा अहिले औसतमा ५० टन मात्रै आएको छ । मागको आधा मात्रै प्याज आपूर्ति भएकाले मूल्य बढेको समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले जानकारी दिए। उनले भने, ‘यो पटक भारतमै भाउ बढेको प्याज अवैधानिक बाटोबाट ल्याउँदा झन् बढेको हुनसक्छ ।’

भारत सरकारले भारतको प्याज अन्य देशमा निर्यात गर्दा भारतमै महँगो भएको भन्दै भारतीय नागरिकबाट चर्को विरोध भएपछि गएको असोजदेखि प्याज निर्यातमा रोक छ । यसको प्रत्यक्ष असर नेपाललाई परेको छ ।

नेपालमा खपत हुनेमध्ये जम्मा दुई प्रतिशत मात्रै प्याज आन्तरिक उत्पादन हुन्छ, बाँकी ९८ प्रतिशत भारतबाटै आयात हुन्छ । अहिले भारतबाटै प्याज महँगो भएर आएको छ, त्यसमाथि यहाँ व्यापारीले यसको मौका छोपेर मनपरी भाउमा बिक्री गर्ने गरेका छन् तर तरकारी बजारमा व्यापार गर्दै आएका ठूला व्यापारीले नै प्याजको भाउ कसले बढायो भन्ने बारेमा आफूहरू बेखबर रहेको बताउँछन् ।

भाउ अझै चर्को हुनसक्ने

नेपालमा प्याज उत्पादनको मौसम भर्खर सुरु भएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । हाम्रोमा आठ÷दस दिनभन्दा धेरै प्याज भण्डारण गर्न पनि सकिन्न । त्यसैले अहिले खुद्रा २०० देखि २२० रुपियाँसम्म पुगेको प्याजको भाउ थप बढ्न सक्ने व्यापारी बताउँछन् । गोरखापत्रमा खबर छ ।