मर्निङवाकमा निस्केका डाक्टरलाई बानेश्वरमा गाडीले ठक्कर दिदा घटनास्थलमै मृत्यु

काठमाडौँ । आइतबार बिहान ५ः३० बजे बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी घरबाट सधैंझै ‘मर्निङवाक’ को लागि निस्किए । तर, मर्निङवाकको लागि निस्किएका ७२ वर्षीय डाक्टर जोशी अरु दिनझैं घर फर्किन पाएनन् । संसद भवनको दक्षिण गेट अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा डाक्टर जोशीको घटनास्थलमै मृत्यु भयो ।

घटनालगत्तै डाक्टर जोशीलाई सिभिल अस्पताल लगिएको थियो । ‘अस्पताल पुर्याएलगत्तै चिकित्सकले डाक्टर जोशीलाई मृत घोषणा गरेका थिए,’ महानगरीय प्रहरी वृत्त तीनकुनेका इन्सपेक्टर दीर्घ बोगटीले भने ।

डाक्टर जोशीलाई ठक्कर दिने गाडी र चालकको पहिचान भएको छैन । इन्सपेक्टर बोगटीका अनुसार फरार चालक र गाडीको सीसीटिभी फुटेजका आधारमा खोजीकार्य जारी रहेको छ । डाक्टर जोशीकी श्रीमती नेपाली सेनाको रिटायर्ड जर्नेल रहेको प्रहरीले जनाएको छ । डाक्टर जोशी बानेश्वरस्थित संसद सचिवालयको १ नम्बर गेट अगाडि परिवारसँग बस्दै आएका थिए ।