जन्मदाको खाट अलग, मर्दाको घाट अलग

विश्वका चर्चित बडी बिल्डर आर्नल्ड कुनैबेला क्यालिफोर्नियाको गभर्नर थिए । जुनबेला उनी गभर्नर थिए, एउटा होटलले आफ्नो हातामा उनको शालिक बनायो । उनैबाट होटलको भव्य उद्घाटन गराउँदै घोषणा गरियो– ‘आर्नल्डले चाहेको समयमा त्यो होटलमा निशुल्क बस्न पाउने छन् ।’ समयको पदचापसंगै उनी पदविहीन भए । शरीर जीर्ण हुँदै गयो ।

मानिसले उनको ओहदा र औकात बिर्सदै गए । एकदिन उनी होटलले दिएको बचन सम्झिएर बास बस्न गए । तर नयाँपुस्ताका होटल स्टाफले आर्नल्डलाई सभ्य व्यवहार गरेनन । विना पैसा होटलको सुविधा दिन नसकिने भनेर फर्काइदिए । आर्नल्ड दुखी भएनन् । बरु संगै रहेको स्लिपिङ व्याग ओढेर आफ्नै मूर्तिमुनि सुते ।

‘यस्तो प्रतिष्ठित मानिस किन खुल्ला आकासमुनि बास ?’ सर्वसाधारणको जिज्ञासा निदान गर्दै उनी भन्छन– ‘धन, पद, पावर र प्रतिष्ठा हुन्जेल दुनियाँ तपाईंको साथ हुन्छ, म्याउ म्याउ गर्छ , हात मोल्छ , खुट्टा ढोग्छ । यी सवै अस्थायी हुन् । यी चीज सधैं तपाईंसंग रहँदैन । यो नरहने वित्तिक्कै नजिकिएकाहरु टाढा भाग्छन् । त्यसैले पद र पैसामा कहिल्यै घमण्ड नगरौं । आफ्नै मूर्तिमुनिको मेरो सुताई यही सत्य सन्देशको उपज हो ।’

अरु हिँडेको बाटोमा हिँड्ने नेता नै हुन सक्दैन । नेताले बाटो पछ्याउने हैन, बाटो बनाउने हो । बाटो नभएको ठाउँमा पाइतालाको डोब छोड्ने नेता कहिल्यै मर्दैन ।

एक टन सिद्धान्तको तुलनामा एक ग्राम कामको धेरै महत्व हुन्छ । मेलम्चीको पानी धारा धारामा झारिदिनुस्, धेरै प्रश्नको उत्तर त्यसले दिन्छ । जिब्रोमा नून बोकेर तरकारी चाख्ने राजनीतिक संस्कारले पुस्तौनी घर गर्दा हरेक राजनीतिक परिवर्तन चटक बन्दै आए । राजनीतिक स्वतन्त्रताले कसैको पेट भरिन्न ।

न त क्रान्तिले आगो बाल्छ । आगो बाल्न त सानो भएपनि आगाकै झिल्को चाहिन्छ । एउटा विद्वानका लागि मूर्खको प्रश्न सर्वाधिक ठूलो विश्वविद्यालय हो । त्यस्तै सबैथोक भएर पनि व्यवस्थापन हुन नसकेको भूगोल सफल राजनेताका लागि चिट्ठा हो । यो सत्य नबुझेर जब नेताको बोली, बचन व्यवहार नै मूर्खको कोटीमा अनुवाद हुन्छ, त्यसको दुष्परिणाम धरामा उभिएकादेखि गर्भमा रहेकाले समेत भोग्नुपर्छ ।

कुनै ठाउँमा चार मूर्ख रहेछन् । उनीहरुले उद्यमका लागि पेट्रोल पम्प खोल्ने निधो गरेछन् । आश्चर्य, एउटा गाडी पनि इन्धन भर्न आएनछ । किन भनेर खोज्दै लाँदा थाहा भयो– ‘उनीहरुले एकतलामाथि पम्प खोलेका रहेछन् ।’ लौ भएन भनेर त्यही ठाउँ रेष्टुरेन्ट खोलेछन् । तैपनि चरोमुसो छिरेनछ । उनीहरुले रेष्टुरेन्ट त खोले तर पेट्रोल पम्पको साइनबोर्ड निकाल्नै विर्सिएछन् । अन्तिम विकल्प स्वरुप ती मुर्खले ट्याक्सी व्यवसाय गर्न ट्याक्सी किनेछन् । ट्याक्सी चढ्ने ग्राहक खोज्न त्यही ट्याक्सी चढेर चारैजना शहर पसे । तर ट्याक्सीभरि मान्छे देखेपछि भरिएको ट्याक्सी ठानेर कसैले सोध्ने हिम्मतै गरेनन् ।

नेपालका राजनीतिक क्रान्ति यिनै मूर्खहरुको व्यवसाय जस्तै बन्यो । कोही पोखरा, कोही महेन्द्रनगर, कोही झापा पुग्ने राजनीतिक स्वार्थ बोकेका नेताहरु सार्वजनिक खपत र पदीय स्वार्थका लागि एउटै गाडीमा चढेर यात्रा आरम्भ गरे । जब मुग्लिङ आइपुग्यो, त्यसपछि माथापच्ची शुरु भयो । गाडी एउटा छ, दावी सवैको । गाडी कसको हो, कसैलाई थाहा छैन् । अहिलेको संविधान त्यही गाडीजस्तै बन्यो । ३ करोड जनताको भावना बोक्नुपर्ने संविधानले प्रोजेक्ट पेपरभन्दा माथिको औकात बोक्न सकेन । आज देश भागशान्ति जयनेपाल बन्नुको परिणाम त्यही अप्राकृतिक कर्मको परिणति हो ।

अरु हिँडेको बाटोमा हिँड्ने नेता नै हुन सक्दैन । नेताले बाटो पछ्याउने हैन, बाटो बनाउने हो । बाटो नभएको ठाउँमा पाइतालाको डोब छोड्ने नेता कहिल्यै मर्दैन । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई सोधियो– ‘तपाईं सामान्य जुत्ता सिलाउनेको छोरो कसरी अमेरिकाको राष्ट्रपति हुनुभयो ?’ उनले मुस्कुराएर जवाफ दिए– ‘मैले पाइला पाइलामा आफ्नै परीक्षा लिएँ । हरेक असफलताबाट केही सिकें । त्रुटी सुधार्दै नयाँ बाटो पहिल्याउँदै गएँ । सफलताको सूत्र पुस्तकमा नभई मेहनतमा हुन्छ भन्ने सत्य आत्मसात गरें ।’

कहिले नभुलौं, फूल बाँड्ने मान्छेको हातमा सुगन्ध पनि बस्छ । सत्य नबुझी अनुमान गर्नु दुखी हुनुको प्रमुख कारण हो ।

सुख र सामान्य सोचले परिवर्तन सम्भव छैन् । पागलपन र वैराग्यले मात्र विकास सम्भव छ । त्यसैले नेतागणहरु चटके हैन, पागल बन्नुस् । देश चलाउने योग्यता के हो ? पारखीहरु भन्छन– ‘खाँटी कुटनीतिज्ञ त्यो हो, जो महिलाको जन्मदिन सम्झन्छ तर उमेर सम्झदैन् ।’ जसले विश्वमा परिवर्तन ल्याए, आरम्भका दिनमा तिनीहरु इतिहासका प्रहसन पात्र भए । सन् १६०० मा गणितज्ञ एवं खगोलविद् गिआर्दानो ब्रुनोले पृथ्वी बाहिर जीवन हुनसक्ने नविन विचार ल्याए ।

उनलाई धर्मको खिलाफ बोलेको भन्दै रोमको मध्य शहरमा जिउँदै जलाइयो । मानव बस्तीको खोजीमा समुद्री यात्रामा निस्कने कुरा गर्दा क्रिष्टोफर पागल बनाइए । यस्तै चाल्र्स डार्विनले मानवलाई बाँदरको सन्तानभन्दा समाजले मगज खुस्किएको भन्दै जीवनभर अपमान दियो । ओरविल राइट र विल्वर राइटले आकाशमा उड्ने परिकल्पना गर्दा रोयल सोसाइटीका अध्यक्षले समेत उडाउनु उडाए ।

ज्नेल्याण्डको प्रस्ताव ल्याउँदा वाल्ट डिज्नेलाई घरकै सदस्यले पागल भन्दै आलोचना गरे । विना तार सूचनाको एजेण्डा ल्याउने मार्कोनीको खेदो खनेर त्यो बेलाको समाज वर्षौं थाकेन । हो, यस्तै पागल बन्ने पालो हाम्रो चाहिँ कहिले हो ? भगवानले त भगवानको विशेषण पाउन थुप्रै अग्निपरीक्षा पास गर्नुपर्छ भने मानिसको के कुरा ? विश्वका प्रख्यात संगीतज्ञ मोजार्टसंग बाल्ने दाउरा थिएन, न त लगाउने न्यानो कपडा नै । यहाँसम्म कि खुट्टाको मोजा हातमा लगाएर उनी संगीत सिर्जना गर्थे ।

बाटो हिँड्दा प्रकाश भेटनु भएको छैन भने आफैं बत्ती भइदिनुस् । आस्थाले बालिएको दीयो हावाले मात्र निभ्दैन । तेल नभएर पनि निभ्छ । तेल नभएर बत्ती निभ्नु भनेको तपाईंभित्रको आयत खुम्चनु हो ।

खान नपाएर कलिलो उमेरमै कुपोषणले वितेका मोजार्टले छोटो समयमा नै आफूलाई विश्वमै अमर बनाए । चार्ली च्याप्लिन बाउमाले छोडेर गएपछि सडकमा मागेर आफ्नो प्राण धाने । कालान्तरमा विश्व विख्यात हास्यकलाकारको ख्याती यिनको नामसंगै जोडियो । असह्य दुखको पीडा खप्न नसकी विश्व प्रसिद्ध लेखक म्याक्सिम गोर्कीले आफ्नो ज्यान आफैंले लिए । यतिका पीडाका शूलबीच पनि मानिसले अमरत्वको झण्डा गाडेका छन् । पीडालाई पनि आफूमाथि हावी हुन नदिएर यति सुन्दर जीवनको सूत्र फेला पारेका छन् भने हामी दुखको लेस नपाएकाहरुलाई कर्मको यज्ञ गर्न के ले छेकेको छ ?

परिस्थितिले नभई मनस्थितिले टुट्छ मान्छे । जाँगर भएको मानिसले माहुरीको चाकाबाट नभएर झारपातबाट पनि मह बनाउन सक्छ । यो धरामा रहेका हरेक मानिसको खाने थाल र जिन्दगीको हाल अलग छ । जन्मिदाको खाट र मर्दाको घाट अलग छ । कोही नभएको बेला मुस्कुराउने मानिस सही अर्थमा खुशी हुन्छ । वास्तवमा आफ्नो को हो ? त्यो देखाउने हक समयलाई मात्र छ । गल्तीको जिम्मेवारी नलिने मानिस कहिल्यै अघि बढ्न सक्दैन । उज्यालोमा मात्र सबैले साथ दिने हुन, अँध्यारोमा त आफ्नै छायाँले पनि छोडिदिन्छ । कहिले नभुलौं, फूल बाँड्ने मान्छेको हातमा सुगन्ध पनि बस्छ ।

सत्य नबुझी अनुमान गर्नु दुखी हुनुको प्रमुख कारण हो । कोही कसैको पछि, न अघि नै लाग्न जरुरी छ । नेतृत्वका लागि विश्वास गरेको पात्र नालायक निस्कियो या आफूले नेतृत्व गर्दा अरुले विश्वास गरिदिएनन भने हालत के हुन्छ ? त्यसैले यात्रा समदूरीमा गरेर साथी बन्नुस् । बाटो हिँड्दा प्रकाश भेटनु भएको छैन भने आफैं बत्ती भइदिनुस् ।

आस्थाले बालिएको दीयो हावाले मात्र निभ्दैन । तेल नभएर पनि निभ्छ । तेल नभएर बत्ती निभ्नु भनेको तपाईंभित्रको आयत खुम्चनु हो । एउटा असल र कर्मशील नेताले मात्र आशा, कल्पना र विश्वासको त्रिवेणी निर्माण गर्न सक्छ । मुखमा फिंज निकालेर अन्टसन्ट बोल्ने काम त रत्नपार्कमा ओखती बेच्नेले पनि गर्छ ।