दुर्लभ एकसिङे गैँडाले तान्दैछ पर्यटक

चितवन, नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटन आकर्षण गर्न सरकारले विविध योजना बनाइरहेको छ ।नेपालको प्राकृतिक सुन्दरता, हिमाल, ताल तलैया, वन र वन्यजन्तुलाई केन्द्रमा राखेर सरकारका योजना अघि बढेका छन् ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा भने दुर्लभ एकसिङे गैँडा आफैँ पर्यटकलाई आकर्षित गर्दैछन् । चितवन राष्ट्रिय निकुञ्ज छोएर बग्ने राप्ती नदी किनारमा रहेको सौराहामा पर्यटक आउने सिजनसँगै जङ्गलबाट पर्यटक नगर विचरण गर्ने दुर्लभ गैँडाको सङ्ख्या पनि बढ्दै गएको छ । बिहीबार बिहान जर्मनी, अमेरिका, बेलायत, भारतलगायत देशबाट सौराहा घुम्न आएका पर्यटकले जङ्गल नै नपसी नगरमै दुर्लभ गैँडा अवलोकन गर्न पाए ।

जङ्गल सफारीमा जाने तरखर चल्दै गर्दा ठूलो भाले गैँडा एकाबिहानै नगर पसेपछि पर्यटकले सफारी जाने जिप छाडे । होटलका पर्खाल र सुरक्षित स्थानबाट खेतमा पसेको गैँडा हेरे । फोटोमा दुर्लभ एकसिङे गैँडालाई कैद गरे । कतिले सेल्फी पनि खिच्न भ्याए । धान काटिसकेको बाँझो खेतका छेउछाउ र होटलका तारबारबाट लर्किरहेका हरिया लहरा, रूखका डालीलाई आहरा बनाउँदै गैँडा अगाडि बढ्यो । “यता फर्क यता फर्क”, जर्मन नागरिकले आफ्नै भाषामा भन्दै थिए, “धेरै यता नआऊ है, फेरि मलाई सिङले घोप्लाऊ नि । ”

विदेशी पर्यटक बोलाउँदै गैँडा अवलोकन गराउन तल्लीन पर्यटन व्यवसायी शिरलाल परियारले पर्यटकले बोलेका कुरा उल्था गरेर सुनाउनुभयो । गैँडा नगर पसेपछि पर्यटकलाई निकै सहज भएको उनी बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनसँगै सौराहाको पर्यटन प्रवद्र्धनमा गैँडाले सघाइरहेको परियारको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।