२१ नेता पक्राउ परेपछि विप्लव आक्रोसित, हामीलाई रोक्न खोज्ने नै खरानी हुनेछन् (विज्ञप्ति सहित)

रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी

काठमाडौं, विद्रोही नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन् ।

उनले बिहिवार एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता बिना सर्त रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

उनले विज्ञप्तिमार्फत चेतावनी दिँदै भनेका छन्, ‘क्रान्तिकारीहरुमाथि दमन गर्नेहरु नै अन्तिममा खरानी हुनेछन् ।’

विप्लवले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवाससहित नेता कार्यकर्ता गिराफ्तार गरेकोमा आपत्ति जनाउँदै रिहाइको माग गरेका हुन् ।

असोज ३० गते बिहिवार राति जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘गए राति केपी वलीको फासिवादी सरकारले हाम्रो पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज कमरेड वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज कमरेड सुवास, ब्युरो सदस्यहरू कमरेड सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको छ । उक्त सामाजिक फासिवादी गिफ्तारीको पार्टी घोर विरोध एवम् भत्र्सना गर्दछ ।’

महासचिवको विज्ञप्तिमा लेखिएको छ, ‘केपी सरकार देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा नयाँ उपलब्धि र विकास दिन असफल भएपछि जनवादी शक्तिवरुद्ध दिन–प्रतिदिन घोर निरङ्कुश, सर्वसत्तावादी एवम् फासिवादी बन्दै गएको छ । देशलाई लुट्ने, घात गर्नेको रक्षा र क्रान्तिकारी एवम् जनवादी शक्तिहरूमाथि हत्या, हिंसा, गिरफ्तारी, दमन लादिरहेको छ । हामी केपी सरकारको निरङ्कुश एवम् फासिवादी दमनका विरुद्ध जागरुक हुन र सङ्घर्ष गर्न सबै मानवअधिकारवादी, कानुनविद्, बुद्धिजीवी, देशभक्त, लोकतन्त्रवादी, कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूलाई विशेष अपिल गर्दछौँ ।’

महासचिव विप्लवको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कठिनाइ, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिका मूल्य हुन् । जनताको मुक्ति एवम् वैज्ञानिक समाजवाद-साम्यवादका लागि लडिरहेका हाम्रो पार्टी, हाम्रा नेता र कार्यकर्ताहरू यो मूल्य चुकाएर नै महान् उद्देश्य प्राप्त गर्न सकिन्छ भन्नेमा स्पष्ट छौँ । यसका लागि हामी तयार हुँदैनथ्यौँ भने माओवादी पार्टीको खरानीबाट हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति जन्माउन सम्भव हुने थिएन । हामी हरेक गद्दारी, ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अरू स्पातिलो बन्दै जानेछौँ । हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्नेछैन । जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भइछाड्नेछ ।”

यस्तो छ विज्ञप्तिको पूर्णपाठ