ठूला भ्रष्टाचार मुद्दा छोडेर साना मुद्दामा अल्झँदै अख्तियार

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार मुद्दालाई थाती राखेर पछिल्लो समय सानो मुद्दामा अल्झिएको छ । ललिता निवास प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति मुद्दालाई थाति राखेर ५ सय रुपैयाँदेखि लाखौ रुपैयाँको स्ट्रिङ अप्ररेसनमा केन्द्रित भएको छ ।पछिल्लो एक महिनाको तथ्यांक हेर्दा अख्तियारले १ हजार रुपैयाँदेखि ४७ लाखसम्म विगो दाबी गरेर विशेष अदालतमा मुद्दा दर्ता गरेको देखिन्छ । अख्तियारले असोज महिनाभर १५ ओटा रंगेहात पक्राउ गरेको छ । जसमा प्रहरी, नापी विभागको सर्भेक्षक, इन्जिनियर, वन अधिकृत, शिक्षक पक्राउ परेका छन् ।

अख्तियारकै लय समाउँदै सरकार पनि भ्रष्टाचार नियन्त्रणका लागि निर्मम भएर लाग्नेभन्दा, शून्य सहनशीलताको भाषण गर्ने, कसम खान लगाउने, गीत गाउन लगाउनेजस्ता ‘कस्मेटिक’ परिवर्तनमा रमाइरहेको छ ।

पछिल्लो समय अख्तियारले ठूलो मुद्दामा चासो दिन छाड्नुले पनि भ्रष्टाचारी समाउने भन्दा पनि धेरै मुद्दाको रेकर्ड मात्रै तयार गर्ने काम भइरहेको विज्ञको भनाइ छ । असोज महिनामा अख्तियारले ८४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । जसमा ठूलो भनिएको भ्र्रष्टाचार मुद्दामा दुग्ध विकास संस्थानको ४६ लाख ७९ हजार बिगोसहित १० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।