५ किलो सुनसहित पक्राउ परेका तोप्चेन भोटे सार्वजनिक

संखुवासभा,पाँच किलो सुनसहित पक्राउ परेका एक जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

सुनसहित पक्राउ परेका भोटे सार्वजनिक
खाँदबारी, संखुवासभाको भोटखोलामा पाँच किलो सुनसहित पक्राउ परेका तोप्चेन भोटेलाई बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय संखुवासभा । तस्बिरः सुजन बज्राचार्य

चीनको तिब्बतबाट जिल्लाको किमाथाङ्का नाका हुँदै ठूलो परिणामको सुन ल्याइँदै गरेको विशेष सुराकीका आधारमा चेपुवा प्रहरीले तोप्चेनलाई भोटखोला–२ लिङ्गमको घट्टेखोलाबाट पक्राउ गरेको थियो ।

प्रहरीले सोमबार तोप्चेनको झोला खानतलासी गर्दा ज्याकेटको गोजीभित्र रातो टेपले बाँधेर राखेको अवस्थामा पाँच थान टिल सुन फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख मिम लामाले जानकारी दिए । सुनसहित पक्राउ परेका उनलाई राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुर पठाइने प्रहरीले जनाएको छ ।