सभामुख चयनमा नेकपाभित्र चरम विवाद : पूर्वमाओवादी खेमाले सभामुख नछाड्ने

सुवास नेवाङलाई बनाउनु पर्ने पूर्वएमालेको दावी

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र पूर्वमाओवादी खेमाले सभामुखमा दाबी गरेपछि सभामुख चयनमा नेकपा अल्मलिएको छ ।

संविधानत सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने भएपछि पूर्व एमाले पंक्ति वर्तमान उपसभामुखलाई नै सभामुख बनाउनुपर्ने पक्षमा उभिएपछि सभामुख चयन प्रक्रिया नेकपाका लागि नै भारी पर्ने संकेत देखिंदैछ ।

बलात्कार अभियोगमा कृष्णबहादुर महराले पदबाट राजीनामा गरेपछि सभामुख पद अहिले खाली छ । सभामुख चयानका लागि प्रतिनिधिसभा बैठक आवश्यक हुन्छ ।

तर अहिले संसदको अधिवेशन नै नबसेको अवस्था छ । संसदको अधिवेशन लगायतका प्रविधिक कुरा भन्दा पनि सभामुख कस्ले पाउने भन्ने विषय अहिले पेचिलो बनेको छ ।

संविधानत उपसभामुख शिवमाया तुम्वहाम्फे त्यही पदमा रहँदासम्म नेकपाले सभामुख दाबी गर्न पाउने अवस्था छैन । दुई तिहाइ मतको नजिक रहेको नेकपाले सभामुख अन्य दललाई छोड्ने वाला पनि छैन ।

सभामुख आफुहरु कुनै पनि हालतमा छोड्ने मुडमा नरहेको नेकपा नेता हरीबोल गजुरेल बताउँछन् । यदि नेकपाले सभामुखमा दाबी गर्ने हो भने उपसभामुख शिवमायाले राजिनामा दिनुपर्ने हुन्छ । उपसभामुख राजीनामा दिने मुडमा छैनन् ।

पार्टी एकीकरणपूर्व राष्ट्रपति, प्रधानमन्त्रीसहित सभामुखको पद भागबण्डा गर्दा सभामुख तत्कालिन माओवादी र उपसभामुख एमालेको भागमा परेको थियो । पूर्वमाओवादी खेमा अहिले पनि सभामुख आफुहरुले पाउनुपर्ने पक्षमा छ ।

तर पूर्वएमाले धाराका नेताहरुले सार्वजनिक रुपमा कुनै टिप्पणी नगरे पनि पार्टी एकीकरण भइसकेको अवस्थामा के को भागवण्डा भन्दै भित्र–भित्रै पूर्वसभामुख सुवास नेवाङलाई नै सभामुख बनाउनु पर्नेमा छ ।

यदि त्यसो गर्न अप्ठ्यारो भए वर्तमान उपसभामुखलाई नै काम गर्ने जिम्मेवारी दिनुपर्नेमा छन् । पार्टी एकिरणको काम टुंगी नसकेको अवस्थामा हिजो भएको सहमति अनुसार नै आफुहरुले सभामुख पद पाउनुपर्ने अध्यक्ष प्रचण्डनिकट नेता गजुरेल बताउँछन् ।

संसद अधिवेशन नभएको अवस्था र प्रधानमन्त्रीसमेत केही समयका लागि स्वदेश बाहिर जाने कार्यक्रम तय भएकाले तिहार अगाडि सभामुख चयन हुने संभावना क्षिण छ । अझ सत्तारुढ दल आफैभित्र के गर्ने भन्ने विषयमा स्पष्ट नहुँदा सभामुख चयन प्रक्रिया अनिश्चित छ ।