यसरी २३ किलोमिटर पार गरेर प्रहरीले गरेको थियो स्टिङ अपरेसन

पक्राउ परेका थिए विप्लवका दाजुसहित २१ नेता कार्यकर्ता (नामावलीसहित)

काठमाडौं,केही दिनअघि दाङ प्रहरीमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव)को पार्टीका बारेमा एउटा महत्वपूर्ण सूचना आएको थियो । पार्टीको उच्च नेतासहितको संलग्नतामा महत्वपूर्ण बैठकबारेको सूचना थियो । सूचनाअनुसार इलाका प्रहरी कार्यालय गढवाबाट २३ किलोमिटरको पश्चिम–दक्षिणमा पर्ने राजापुर गाउँपालिका–४ स्थित मरेठाको जंगलमा बैठक हुने जानकारी थियो।

सोही अनुसार २३ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरीक्षकको कमाण्डमा, वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी निरीक्षककै कमाण्डमा र जिल्ला प्रहरी कार्यालय दाङबाट समेत टोली मरेठा जंगल प्रस्थान गरेको थियो।

बैठकस्थलम प्रहरीले पत्ता लगाएपछि थप प्रहरीको आवश्यकता रहेको भन्दै खबर गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय र प्रदेश ५ को प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी टोली घटनास्थल पुगेको थियो । ठूलो संख्यामा राति नै जंगल पुगेको प्रहरीले विप्लवका दाजु तथा मध्यकमाण्ड इन्चार्ज चन्द्रहादुर चन्द (वीरजंग)सहितका २१ नेता पक्राउ परे । उनीहरुलाई पक्राउ परेको स्थान नेपाल–भारत सीमा नजिक पर्छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइसकिएको बताएका छन् । उनीहरुमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। उनीहरु पक्राउ परेसँगै विप्लव नेकपालाई ठूलो धक्का लागेको छ।

पक्राउ परेकाहरुको नामावली

– चन्द्रबहादुर चन्द (वीरजंग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज तथा विप्लवका दाजु
– केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
– रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
–सविन पोख्रेल – राप्ती ब्युरो कार्यालय सचिव
–यमलाल कटुवाल (विक्रम) – जिल्ला ईन्चार्ज
–प्रदीप वली – जिल्ला सेक्रेटरी
–बविन केसी (पाटन, जंगली) – युवा संगठन नेपाल केन्द्रीय अध्यक्ष
–सुनिल पौडेल– वुद्धिजिवी
–एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य)
–धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गाउँपालिका सेक्रेटरी
–तिलक पुन (पूर्व जनमुक्ति सेना)
–सुरज विक –दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
–हितप्रसाद रोका –पार्टी सदस्य
–पोष्टमान घर्ती – रोल्पा जिल्ला सदस्य
–दलबहादुर खत्री
–अमित घर्ती मगर
–बालकृष्ण शर्मा
–जीत क्षेत्री
–रमेश आचार्य
–बिष्णु थापा
–कुलबहादुर ओली

बिप्लव नेकपालाई ठूलो धक्का

प्रहरीका अनुसार अहिले पक्राउ परेका बाहेक ४३ जिल्ला इन्चार्जसहित १ सय ४८ जना नेतृत्व तहका नेताहरु पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार हालसम्म विप्लव समूहका १ हजार ५ सय १४ जना पक्राउ परिसकेका छन्। तीमध्ये १ सय ४८ जना नेतृत्व तहका रहेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए। जसले गर्दा नेतृत्व तहमै नेकपा कमजोर बन्दै गएको प्रहरीले विश्लेषण गरेको छ।

पक्राउ परेका १ हजार ५ सय १४ मध्ये सरकारले गत फागुन २८ गते विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि ६ सय ९४ जना पक्राउ परेका थिए। त्यसमध्ये केही छुटिसकेका छन्। ४३ जिल्लाका जिल्ला इन्चार्ज पनि पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिबन्धपछि पक्राउ परेका मध्ये नेतृत्व तहका १४८ जना छन् भने कार्यकर्ताहरु ५४६ जना छन्। पक्राउ परेका मध्ये नेतृत्व तह २१ प्रतिशत हो।

जसमध्ये स्थायी समिति सदस्य १ जना, विभागीय प्रमुख १, पोलिटब्युरो सदस्य २, केन्द्रीय सदस्य ७, ब्युरो प्रमुख ५, भ्रातृ संगठन प्रमुख ६, ब्युरो सदस्य १७, जिल्ला इन्चार्ज ४३, भ्रातृ संगठनका जिल्ला इन्चार्ज ६६ जना पक्राउ परेका छन्।

विप्लव नेकपाका नेता(कार्यकर्तामाथि अहिलेसम्म १ हजार ३ सय १३ वटा मुद्दा दर्ता भएका छन्। प्रतिबन्धपछि मात्रै ६ सय ४८ वटा मुद्दा दायर भएको प्रहरीले जनाएको छ। जसमा संगठित अपराध, बम विस्फोट, राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग, हत्या, अभद्र व्यवहार, आगजनी अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मध्ये ५ सय १३ जना भने छुटिसकेका छन्। १ सय १० जना कारागार चलान भएका छन्। ६९ जनामाथि अनुसन्धान भइरहेको छ। २ जनालाई बाल सुधार गृह पठाइएको प्रहरीले जनाएको छ।