टर्कीका राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र- ‘मूर्ख नबन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप ताइप इर्डोगानलाई एक ‘असाधारण’ पत्र पठाएका छन् । उनले गत साता पठाएको पत्रमा यदि टर्कीले सिरियाको अवस्था मानवताका आधारमा समाधान नगरिएमा टर्कीको अर्थतन्त्र विनाश गरिदिने चेतावनी दिएका छन् ।

ट्रम्पको पत्रको आशय हेर्दा कूटनीतिक मर्यादा विपरीत रहेको देखिन्छ । उनले टर्कीका शक्तिशाली व्यक्ति इर्डोगानलाई पठाएको पत्रमा लेखिएको छ, “उक्त विषयमा राम्रो सम्झौता गरौं”, ‘मूर्ख नबन’ ।

टर्कीका राष्ट्रपतिले पनि ट्रम्पलाई पत्र पठाउँदै ‘धेरै ठूलो नबन’ भन्दै चेतावनी दिएका थिए । राष्ट्रपतिद्वयले फोनमा कुराकानी गरेको दुई दिनपछि अक्टोबर ९ मा उक्त पत्र लेखिएको थियो । ट्रम्पले ‘विश्वलाई नै पछि धकेल्ने काम नगर’ भन्दै चेतावनीपूर्ण भाषाको प्रयोग गरेका छन् । उनले सिरियाली कुर्दहरु वार्ता गर्न चाहन्छन् र कुनै सम्झौताको निष्कर्षमा पुग्न चाहेको पत्रमार्फत बताएका छन् ।

टर्कीले आफ्नो सीमामा रहेको सिरियाली भूभागबाट कुर्दलाई हटाएर ३२ किमी क्षेत्रमा सेफ जोन बनाउन चाहेको छ । जहाँ पछि २० लाख सिरियाली शरणार्थीलाई राख्ने टर्किस राष्ट्रपति इर्डोगानले बताएका थिए । तर, यही विषयमा पछिल्लो पटक उसले कुर्दमाथि आक्रमण गर्दा लाखौं मानिस समस्यामा परेका छन् ।

अमेरिकाले यसअघि कुर्दहरुमाथिको टर्किको आक्रमणको निन्दा गर्दै केही मन्त्रालय र निकायलाई प्रतिबन्धको घोषणासमेत गरिसकेको छ । सीएनएन