मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित पाँचजना पक्राउ

काठमाडाैँ,मिर्गौला किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका-९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आले छन्।

बुधबार पत्रकार सम्मेलन गरी ब्युरोले घटनाबारे जानकारी गराएको हो। भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन्।

उनीहरूको मिलेमतोमा एक बिरामीको शंकरलाल लामालाई मिर्गौला विक्री गरिएको प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले जनाएको छ।

ब्युरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार नक्कली व्यक्ति खडा गरी मिर्गौला लामालाई प्रत्यारोपण गराइएको थियो। थपलियाका अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरले मिर्गौला प्रत्यारोपणका लागि एकको अनुमति दिएकोमा आलेले अर्कै व्यक्ति खडा गराउने कागज तयार पारेका थिए।

तीन महिनाअघि भएको सो घटनाबारे सूचना पाएपछि एक महिनायता प्रहरी अनुसन्धानमा जुटेको थियो। घटनाबारे अनुसन्धान भइरहेकाले मिर्गौला कसको झिकिएको हो? भन्नेबारे प्रहरीले खुलाएको छैन।