महराको बयान– रोशनीको कोठामा गएकै हो, तर दुर्व्यवहार गरेको छैन

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू रोशनी शाहीको कोठामा गएको स्वीकार गरेका छन् । एक उच्च प्रहरी अधिकारीले भने, ‘‘उहाँले म गएको हो भनेर स्वीकार गर्नुभएको छ । महराजीले रोशनीको परिवारसँग पारिवारिक सम्बन्ध हो ।

कुनै प्रकारको दुर्व्यवहार गरेको छैन भन्नुभएको छ ।’’ तर, रोशनीले प्रहरीमा आफूमाथि महराले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दर्ता गरेकी थिइन् । महराले प्रहरीसँगको बयानमा आफूले रक्सीको बोतल समेत नलगेको दाबी गरेका छन् ।

अदालतबाट म्याद लिएर प्रहरीले महरामाथि अनुसन्धान गरिरहेको छ । महरालाई काठमाडौं जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न १३ दिनको समय मंगलबार दिएको थियो । यसअघि महराले आफू असोज १२ गते रोशनीको कोठामा नगएको दाबी गर्दै आएका थिए ।

महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले डिस्चार्ज नगरेकाले उनलाई अदालतबाट अस्पतालमै फर्काइएको छ ।

महरामाथि संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप छ । महराले सोही प्रकरणमा सभामुखको पदबाट समेत राजीनामा दिएका थिए ।

महरा बा २० च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेका थिए । प्रहरीले रोशनीको कोठाबाट महराको भनिएको चश्मा, जुत्ताको सोल लगायतका सामग्री बरामद गरेर फरेन्सिक चेकजाँचका लागि पठाएको छ । यस्तै रोशनीको शरीरमा लागेको चोटको समेत परीक्षण गरिएको छ । परीक्षणका क्रममा रोशनीको शरीरमा देखिएको चोट अन्य व्यक्तिबाट लागेको पाइएको छ ।

रोशनीले प्रहरीमा महराले दुर्व्यवहार गरेको उजुरी दिए पनि सामाजिक सञ्जालमा भने महरा निर्दोष भनेर पत्र, विज्ञप्ति जारी गर्दै आएकी छन् । तर, उनले दाबी गरेका पत्रहरु उनकै आधिकारिक हुन् भन्ने पुष्टि हुन सकेको छैन ।बारखरीबाट