बुवा भन्नुहुन्छ !

साना साना पाउ तिम्रा
उठलान चल्न खोज्लान कहि कतै
लरखराउदै दुईचार कदम चलेपछी
तिमी लडौला तर नडराउनु, नरुनु
हार पनि नखानु तिम्रो बुवा तिम्रो
हरकदममा तिम्रो साथसाथ हुनेछ ।
मेरो बुवा भन्नुहुन्छ ।
तिम्रो काँधमा ठुलो भारी होला
भबिस्यको लक्ष्य उद्देश्य पूरा गर्न
हरेक संघर्षको सामना गर्नु पर्ला
तर आफ्नो लक्ष्य नबिर्सिनु गन्तव्य तय
गर्नु किनकी तिम्रो बुवा
तिम्रो सपनाको हौसला बन्नेछ ।
मेरो बुवा भन्नुहुन्छ ।

तिम्रो बारेमा कसैले राम्रै
कुरा गरि तारिफ गर्लान
कसैले नराम्रो कुरा गरि पछाडि सार्लान
कसैले तिम्रो हरेक कुराको ईष्र्या गर्लान
तिमी सत्यताको बाटो रोज्नु
नयाँ नयाँ सत्मार्गको परिकल्पना गर्नु
हजारौं दुख कष्ट र चुनौतीपूर्ण
यात्रा गर्नु परे पनि गर्नु
सत्यता रोज्नु मर्नु परे पनि मर्नु
तर हरेस खाएर कहिले कायर भएर पछाडी नसर्नु
किनकि तिम्रो बुवा तिम्रो हिक्मत हुनेछ ।
मेरो बुवा भन्नू हुन्छ।

कहिले जिवनमा खुसी छाउला
कहिले दुखको बादलले घेर्ला
त्यसैले दुखमा नआतिनु सुखमा नमातिनु
दुबै सुख दुखलाई बराबरी नजरले हेर्नू
किनकी तिम्रो पछाडि तिम्रो बुवा
तिम्रो सुखदुःखको साथी हुनेछ ।
मेरो बुवा भन्नुहुन्छ ।

जिवनको उदारचडाबमा तिमिलाई
कसैले बिचल्ली बनाउन खोज्लान
कहिकतै जिवनमा नयाँ नाता नजिक आउलान
पूराना नाता टाढा हुन खोज्लान
तिमी खुसी हुन नसक्ने अवस्था आउलान
कहिले दिल दुख्ला तर चिन्तित कहिले नहुनु
किनकी नाताको परिभाषा सिकाउनलाई
तिम्रो बुवा तिम्रो संस्कार हुनेछ।

जो आवाजबिना रुने गर्छन त्यो बुवा हो
जो माया नदेखाएर धेरै माया गर्ने गर्छन त्यो पनि बुवा हो ।