गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन काठमाडौंमा सुरु

नेतृत्वका लागि चुनावी रस्साकस्सीमा पन्त र आचार्य

काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनको एक विशेष समारोहका बीच आज राष्ट्रपति विद्यादेवी भन्डारीले उद्घाटन गरिन्।

मंगलबारदेखि ३ दिनसम्म हुने विश्व सम्मेलनका लागि एनआरएनए प्रतिनिधिहरूको व्यस्तता बढेको छ। सम्मेलन होटल हयातमा सुरु भएको हो।

विश्वका ८१ देशमा एनआरएनएका सदस्य ८२ हजारको संख्यामा रहेको बताइएको छ। ती देशबाट बढीमा २५ सय प्रतिनिधिले मतदानमा भाग लिने अनुमान गरिएको छ।

गैरराजनीतिक र स्वतन्त्र संस्थाका रुपमा विधानमा परिभाषित गरिए पनि संघमा राजनीतिक प्रभाव हाबी भएको बताइन थालिएको छ। च्याप्टर देशहरूमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली कांग्रेसको प्यानल बनाएर अधिवेशन भएका थिए।

दल निकट रहेका प्रतिनिधिको सम्मेलनमा बाहुल्यता हुने निश्चितप्राय छ। च्याप्टर देशमा देखिएको राजनीतिक रङ केन्द्रीय महाधिवेशनमा स्पष्ट देखिने भएको छ।

विश्व सम्मेलनले आगामी २ वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ। कुमार पन्त र  कुल आचार्य अध्यक्षका लागि दौडमा छन्।