महरा सर ! फेरी भन्नुहुनेछ ‘माननीय सदस्यहरु हुन्छ भन्नेले हुन्छ भन्नुस, हुन्न भन्नेले हुन्न भन्नुस’

हिरासतमा रहेका महरालाई विप्लवको मार्मिक पत्र

प्रिय महरा सर,

क्रान्तिको समरबाट अभिबादन !

हामी तपाईका चेलाहरु आज निशब्द छौ । पत्याउनै गाह्रो भो । तपाइको भद्र स्वभाबले यस्तो छुद्र कार्य कसरि गर्यो होला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङ्गमा युद्दको एउटा आदर्श थियो, जहाँ केवल एकजनासँग मात्रै प्रेम बिबाह अनि यौनको स्कुलिङ्ग दिन्थ्यो । अन्य पराय बिबाहित महिलासँगको शारीरिक सम्बन्धलाई अनैतिक सम्बन्ध भन्थ्यो ।

सर तपाइको आदर्श आज डगमगाएको छ । तपाइको कमजोरीमाथि बर्गबैरिहरु दशैँ मनाई रहेका छन् ! घर जलेको त्यो दिन एकपटक फेरी निसास्सिएको छ । जुनेलिरातका जुनाताराहरुको उजेली मधुर बनेको छ । क्रान्तिको आवेग हच्किएर तपाईलाई चियाएर हेर्यो अनि बन्दुकको निसानी फेरी एकपटक सल्बलाएको छ । तर ढिला भैसकेको छ महरा सर ।

मलाई आज कामरेड भनेर सम्बोधन गर्न गाह्रो भयो । मसँग सरको सम्बोधन बाहेक अरु केही रहेन । म क्षितिज पारि पर्खिरहेको परिवर्तनको उसा किरणसँगै छु । उज्यालो उसा किरण बोकेर धर्तीमा ल्याउने दुस्साहस गर्दै गर्दा सायद मेरो भौतिक शरीर जलेर उसासँगै नष्ट हुनसक्छ तर बिचार जिबित रहनेछ, म नभएर के भयो र रु आखिर बिचार त बाँचिरहनेछ । अँ साँच्ची संसदीय व्यवस्थाले तपाइको जिबन उदाङ्गो पारिदियो ।

कमजोरी तपाईबाट भयो होला तर त्यसको अन्तर्निहित कारक तत्व संसदीय ब्यबस्था हो । यो व्यवस्थाले अन्तर्निहित सुन्दरताको हरण गरेर देखावटी रुपको बिज्ञापन गर्छ । आदर्शको सत्यानास पारेर नैतिक हिनहरुको संगत गराईदिन्छ । किन कि संसदीय थलोमा खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेचिन्छ । हो महरा सर त्यहि भएर आज तपाई आदर्शको चुलीबाट गर्ल्याम्म ढल्नु भएको हो । दोष त तपाइको थिएन, थियो त केवल त्यहि व्यबस्थाको थियो।

सर्बहाराले देखेको कुरा हो, हुस्किको चुस्कीले मात लगाउछ, मात लागेको मनले उत्तेजित बनाउछ । आखिर धन सम्पती न हो दम्भ देखाउछ । फोकटमा पाएको सुख सुबिधाले त झनै आदर्शको हिमशिखर बिलाई खल्बल्लिएको मस्तिस्क हुँदै दरिद्र आत्मा भएर अनैतिक कार्यशैलीमा छछल्किन्छ, अनि पोखिन्छ । हो त्यस्तै भएको हो तपाइको आदर्शको जिन्दगी, यो दोष पनि त्यहि पातकी संसदीय ब्यबस्था हो । कसैको घर उजाड बनायो, कसैको नैतिकता हरण गर्यो, कसैको उठिबास लगायो, यो सब ब्यबस्थाकै कारण हो ।

मैले यतिबेला सम्झिरहेको छु । चुनबाङ्ग बैठकपछि प्रचण्ड कामरेड र बैद्य कामरेडको बैचारिक धार विभाजन हुँदा तपाई मौन भएर दोसाँधमा उभिनुभएको थियो । नत प्रचण्डको बिचारमा तपाईको अडान थियो नत बैध्य कामरेडको बिचारमा थियो । तर अन्तत: तपाई प्रचण्ड कामरेडको संसदीय बाटो पकड्नुभयो । जसको फलस्वरूप आज इनाम पाउनुभयो, म निकै दुखि छु ।

मेरा युद्धकालिन मित्र बादलले हत्कडी लगाएर आज हिरासत पठाए, त्यो उनले नुनको सोझो गर्ने कर्तब्य थियो । आशा गर्छु छानबिनपछि अडिक आदर्श सहित मेरा आदरणीय महरा सर फर्किनुहुनेछ र फेरी भन्नुहुनेछ ‘माननीय सदस्यहरु हुन्छ भन्नेले हुन्छ भन्नुस, हुन्न भन्नेले हुन्न भन्नुस’ ।

क्रान्तिकारी अभिबादनसहित उही कमरेड विप्लव ।

नोट : स्मरण रहोस् लेखक नेकपाका महासचिव विप्लव होइनन् ।