आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं, सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा आज नेपाल र सिंगापुर भिड्दैछन् ।

सिरिजको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरको सामना गर्न लागेको हो । इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे शुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । सिरिजको फाइनलमा पुग्न नेपाललाई जित आवश्यक छ । यस्तै नेपाल घरेलु टिमसँग दुई महिनाअघि सिंगापुरमै भएको आईसीसी टी(ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

एसिया छनोटमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको थियो । जसको कारण नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । यता, सिंगापुर पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । यस्तै सिंगापुर नेपालमाथि पुनः जित निकाल्न चाहन्छ ।

डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको अंक तालिकामा नेपाल अंक विहिन रहेको छ । जिम्बावे २ अंक जोडेर शीर्ष स्थानमा छ । सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।