आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गर्दैछ। बैंकले बिहान १० बजेदेखि नोट सटहीको व्यवस्था मिलाएको छ। राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट आजदेखि असोज १७ गतेसम्म नयाँ नोट साट्न सकिनेछ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ।

यसपटक भने राष्ट्रबैंकको थापाथलीमा भने नयाँ नोट साट्न पाइने छैन्। राष्ट्र बैंकले थापाथलीमा नयाँ नोट सटहीको व्यवस्था नगरिएको जनाएको छ। एकजना व्यक्तिले ५, १०, २०, ५० र १ सय दरका एक÷एक प्याकेट गरी अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउनेछन्।

त्यसभन्दा धेरै चाहिनेलाई सुकिलो नोट उपलब्ध गराइने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए। आफ्नो खाता भएका बैंक तथा वित्तिय संस्थाबाट पनि सिमिति मात्रामा नयाँ तथा सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।