बिज्ञहरु भन्छनः बीआरआईबाट नेपालले ठूलो फाइदा लिनसक्छ

काठमाडौं, ३१ भदौ । नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड दिएका छन् । विश्वसँग जोडिने विकल्पहरु विकास नगरिएका कारण नेपालले बेलाबेलामा नाकाबन्दी जस्ता जनजीवनमा असर पार्ने समस्या झेल्नु परेको भन्दै नेपालले बहुविकल्पहरु निर्माण गरेर अघि जानुपर्नेमा जोड दिएका हुन् ।
फ्रेन्डसीप फोरम पर नेप्लिज जर्नालिस्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै विज्ञहरुले बीआरआई नेपालका लागि एक उचित अवसर बन्न सक्नेमा जोड दिए । आजको विश्वमा कुनै पनि देश एक्लै सबैथोक गर्न नसक्ने भएकोले विश्वसँग जोडिएर नेपाललाई विकासको बाटोतिर लग्नका लागि बीआरआईलाई उपयोग गर्नुपर्ने विज्ञहरुको भनाई थियो ।

बीआरआईमा नेपालीको दृष्टिकोण विषयक अन्तरक्रिया कार्यक्रममा कार्यक्रममा बोल्दै रसियाका लागि नेपाली राजदुत तथा लेखक हिरन्यलाल श्रेष्ठले बीआरआई एशिया युरोप र अफ्रिकालाई जोड्ने महापरियोजना भएको र यसले संसारभर प्रभाव पारेको उल्लेख गर्दै यो परियोजनालाई नेपालले एउटा राम्रो अवसरकर रुपमा लिनुपर्ने बताए । तर, अहिले नेपालले पाल माग्ने खालका मात्र योजना मात्र पस्केको भन्दै उनले दुःख व्यक्त गरे । नेपालको अनुहार बदल्ने ठूला आयोजनाको प्रस्ताव तयार गरेर बीआरआईमा समावेश हुनुपर्ने सुझाव दिँदै कुटनीतिज्ञ श्रेष्ठले बीआरआईबाट नेपालले फाइदै फाइदा लिन सक्नेमा जोड दिए । उनले यदि बीआरआई सफल भएमा नेपाल पनि पहुँचमार्ग हुने भएकोले विश्वका ठूला ठूला कम्पनीहरु प्रविधि र पुँजी लिएर आफै आउने उल्लेख गरे ।

भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा बोल्दै लेखक तथा विश्लेषक हरी रोकाले विश्वको बहुचर्चित आयोजनाको रुपमा रहेको बीआरआईबाट नेपालले लिनसक्ने फाइदाहरुबारे र सम्भावनाहरुको चर्चा गरे । उनले एकथरि मान्छेहरुले बीआरआईलाई अहिलेसम्म स्वीकार नगरेका कतिपय देशले के भन्लान भनेर सोच्ने गरेको भन्दै त्यो परनिर्भर चेतनाले देश विकास हुन नसक्ने बताए । बीआरआईलाई नेपालले आफ्नो फाइदाका लागि प्रयोग गर्नुपर्ने बताउँदै चीनले प्रस्ताव गरेको भए पनि उसले यसमा कुनै पनि परियोजनाको खाका दिने नभई हरेक देश आफैले आफ्नो प्राथमिकता तय गर्नुपर्ने बताए । सन २०१७ मा नेपालले बीआरआईको पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको भए पनि अहिलेसम्म त्यसमा कुन आयोजना लाने भन्ने कुनै पनि गृहकार्य नभएको भन्दै उनले दुःख व्यक्त गरे । आफूले सबै मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको जानकारी गराउँदै अहिले भइरहेकै आयोजनालाई देखाउने वाहेक अरु केही पनि नगरेको बताउँदै विश्लेषक रोकाले बीआरआई विश्वसँग सहकार्यको एउटा ठूलो खोज भएको बताए ।

कार्यक्रममा बोल्दै डेनमार्कका लागि नेपालका पूर्व राजदुत डा. विजयकान्त कर्णले बीआरआईबाट नेपालले धेरै फाइदा लिन सक्ने भए पनि अहिलेसम्म हाम्रा प्रोजेक्ट के हुन भन्ने तय नगरेको र हल्कारुपमा अगाडि सारिएका प्रोजेक्टहरुबारे न संसदमा न त आम जनतामाझ कतै छलफलमा नल्याएको बताए । उनले नेपालको विदेश नीति नेपालकै राष्ट्रिय हीतका आधारमा सन्तुलित हुनुपर्ने बताए । उनले अहिले सरकारले आम नागरिकको प्रश्न गर्न पाउने स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उल्लेख गर्दै उनले यो विश्वभरि स्थापित प्रजातन्त्रको मान्यता भएको बताए ।

त्यसैगरी कार्यक्रममा नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा. हरिशचन्द्र शाहले बीआरआई लामो परियोजना भएको भन्दै नेपालले अहिलेदेखि नै तयारी गर्नुपर्नेमा जोड दिए । विश्वसँगको कनेक्टिभीटी जोडिएपछि नेपालले आफूले पठाउने उत्पादन के हो भन्ने कुरा अहिलेदेखि नै तयारी गरेर त्यसका आयोजना नेपालमा बनाइनुपर्ने बताए । आफूलाई चाहिने कुरा के हो भन्ने कुरा तय गरी आफैले योजना तयार गर्नुपर्नेमा जोड दिँदै शाहले बीआरआई नेपालले विश्वसँग सम्मानका साथ जोडिने महत्वपूर्ण परियोजना हुने बताए ।

कार्यक्रममा बोल्दै पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपालले बीआरआईसँग हस्ताक्षर गरेपछि कतिपय ठाउँबाट किन गरेको भन्ने प्रश्न उठाइएको भन्दै त्यस्ता हस्तक्षेपहरुका विरुद्ध आम जनता उभिनुपर्ने र बीआरआईमा नेपालको सम्मानजनक सहभागिता रहने बताए । विगतमा नेपालमा भएको नाकाबन्दीको असरबारे कुरा गर्दै उनले नेपालको स्वाधीनतामाथि हस्तक्षेप गर्न खोज्ने प्रवृति बीआरआईले तोड्ने पनि बताए । अहिले कतै कतै नेपालले इन्डो प्यासिफिक रणनीतिलाई समेत स्वीकार गर्न दवाव दिन थालिएको प्रसंग कोट्याउँदै त्यस्ता दवाव अस्वीकार गर्नुपर्नेमा जोड दिए ।