शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का

काठमाडौं। सरकारले जिल्लान्तर सरुवा रोक्का गरेको छ । अर्को सूचना नआएसम्मका लागि जिल्लान्तर सरुवा नगर्न सरकारले निर्देशन जारी गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भाद्र २३ गते ७७ जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गर्दै शिक्षकहरुको जिल्लान्तर सरुवा नगर्न नगराउन निर्देशन दिएको हो ।

शिक्षक सेवा आयोगबाट खुला परीक्षामा उत्तीर्ण उम्मेदवारहरुलाई स्थायी नियुक्ति तथा पदास्थापनाका लागि सिफारिस भई आएका र आउने क्रम जारी रहेको भन्दै केन्द्रले पदास्थापना प्रक्रिया नसकिञ्जेल जिल्ला अन्तर सरुवा नगर्न निर्देशन दिएको हो ।

आयोगबाट सिफारिस भएर आएका उम्मेदवारहरुको अन्तिम अभिलेख तयार पार्ने काम भइरहेको भन्दै अर्को सूचना नआएसम्मका लागि जिल्लान्तर सरुवा नगर्न केन्द्रले निर्देशन जारी गरेको हो ।