यसरी पुग्यो हिमालमा डेङ्गु ६१ जिल्ला प्रभावित

डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गर्न कांग्रेसको माग

काठमाडौँ ,सामान्यतयाः तराई र पहाडमा देखिने डेंगु हिमाली जिल्ला मनाङमा समेत पुगेको छ भने डेंगुको संक्रमण ६१ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउन १ गतेदेखि भदौ २४ गतेसम्ममात्रै ५ हजार ९५ जना डेंगु संक्रमणका नयाँ बिरामी थपिएका छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको संक्रमण गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा समेत पुगेको महाशाखाले जनाएको छ । केही वर्ष अघिसम्म तराई क्षेत्रमा मात्रै देखिने डेंगुको अहिले पहाड हुँदै हिमालसम्म पुगेको हो ।

महाशाखाले दिएको जानकारी अनुसार साउन १ देखि भदौ २४ गतेसम्मे सबैभन्दा धेरै डेंगुका बिरामी प्रदेश नं. ३ मा छन् । प्रदेश नं. ३ मा ३ हजार १ सय २६ जनामा डेङ्गुको संक्रमण देखिएको हो । यस्तै सबै भन्दा पहिला डेङ्गुको संक्रमण फैलिएको प्रदेश नं. १ मा भने साउनदेखि अहिलेसम्म ८ सय ३१ जना नयाँ बिरामी थपिएका छन् ।

प्रदेश नं. २ मा ३९, गण्डकी प्रदेशमा ९७२, प्रदेश नं. ५ मा ९७ ,कर्णाली प्रदेशमा ३ र सदूरपश्चिम प्रदेशमा २९ जनामा डेङ्गुको संक्रमण फैलिएको छ । अहिलेसम्म ६ जनाको मृत्यू भईसकेको छ । मृत्यू हुनेको संख्या पनि प्रदेश नं. ३ मा सबै भन्दा धेरै छ । यस प्रदेशमा ४ जना र अन्य प्रदेशमा २ जना गरी अहिले सम्म ६ जनाको निधन भएको महाशाखाले जनाएको छ । २०७६ साल वैशाखयताको तथ्याङकअनुसार हालसम्म ८ हजार भन्दा धेरै मानिसमा डेंगुको संक्रमण फैलिसकेको छ ।

संकटकाल घोषणा गरी डेंगु नियन्त्रण गर्न काँग्रेसको माग

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । तत्काल डेंगु संक्रमणबाट गम्भीर नबन्ने हो भने यसले महामारीको रुप लिने भन्दै उनले सरकारले राष्ट्रिय इर्मरजेन्सिको रुपमा लिनुपर्ने धारणा राखे ।

‘सरकार कुहिरोका काग बनेको छ । यसलाई अङ्ग्रेजीमा क्लु लेस भन्छ । ७७ जिल्लामध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ति मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यक्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । कतिजना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ?’ सांसद अधिकारीले प्रश्न गरे ।

उपचारमा संलग्न चिकित्सकदेखि मन्त्रीसम्मलाई डेंगुको संक्रमण हँुदा पनि सरकार तथा सम्बन्धीत निकाय स्वास्थ्य मन्त्रालय जिम्मेवार बन्न नसकेको आरोप लगाए ।

उनले भने, ‘के अझै पनि सरकार कुम्भकर्ण निन्द्राबाट व्यूँझिन चाहदैन ? सरकारले सदनमा उपस्थित भएर डेंगुको बारेमा सदनलाई जानकारी गराओस् ।’

उनले ३ सय ५० रुपैयाँमात्रै पर्ने डेंगु जाँच किटको निजी अस्पतालहरुले २ हजार ६ सय रुपैयाँसम्म लिने गरेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । चितवनमा अस्पतालहरुले डेंगु परीक्षण गर्न २ हजार ६ सय रुपैयाँसम्म लिने गरेको र त्यसमा स्थानीय प्रशासनले ‘१ हजारमा गरेनौ भने कारवाही गर्छौ’ भनेको उल्लेख गर्दै उनले सरकारले डेंगुको निशुल्क जाँचको व्यवस्था मिलाउनुपर्ने तर्क गरे ।

‘वास्तवमा यसको मुल्य ३ सय ५० रुपैयाँ पर्ने रहेछ । ३ सय ५० नै थप्दा पनि ७ सय भन्दा बढ्ता जान्छ भनेपछि सरकार नै १ हजार रुपैयाँको छुट दिन खोजिरहेको छ’ अधिकारीको भनाई छ ।

उनले डेंगु परीक्षणको वास्तविक लागत र परीक्षण सुविधा प्राप्त नभएका जिल्लामा सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरे ।

साथै उनले राष्ट्रियसभाको अर्को बैठकमा स्वास्थ्य मन्त्रीलाई डेंगुको बारेमा आधिकारिक धारणा राख्नका लागि निर्देश गर्न पनि अध्यक्षको ध्यानाकर्षण गराए ।

यसरी पुग्यो हिमालमा डेङ्गु 

शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेर बहादुरले पुनले सवारीसाधनमार्फत डेङ्गुको संक्रमण हिमाली जिल्ला मनाङसम्म पुगेको हुनसक्ने बताए । ‘सवारीसाधनमार्फत डेङ्गुको संक्रमण भएका लामखुट्टे हिमाली जिल्लामा पनि पुगेका हुनसक्छन्,’ पुनले रातोपाटीस्ँग भने । चिकित्सक तथा वातावरण विज्ञहरुले जलवायू परिवर्तनका कारण पनि सिमित क्षेत्रमा देखिँदै आएको यो रोग तथा संक्रमणहरु सबै ठाउँमा पुग्न थालेको बताउँदै आएका छन् । राताेपाटीबाट