टी–२० क्रिकेट वरीयता : पारसले उछिने धोनी र गेललाई

एजेन्सी, नेपालका कप्तान पारस खड्काले टी–२० क्रिकेट वरीयतामा भारतका चर्चित खेलाडी महेन्द्र सिंह धोनी र वेस्ट इन्डिजका महान क्रिकेटर क्रिस गेललाई समेतपछि पारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको टी–२० वरीयतामा पारस ६८ औं स्थानमा छन् । यद्यपी पारस दुई स्थान खस्किएका छन् । धोनी ६९औं र गेल ७५औं स्थानमा छन् । अलराउन्डरतर्फ पारस २७ औं स्थानमा छन् ।

पारसले अलराउन्डरतर्फ राशिद खान, रोहित शर्मा, हार्दिक पाण्ड्या, क्रिस गेल र आन्द्रे रसेल जस्ता स्टार खेलाडीहरुलाई पछि पारेका छन् । राशिद ३० औं, रोहित ३९ औं, हार्दिक ४१ औं, गेल ४३ औं र रसेल ५३ औं स्थानमा छन् ।

अलराउन्डरतर्फ नेपालका सोमपाल कामी ६७ औं स्थानमा छन् । टी–२० को बलिङतर्फ वरीयतामा नेपालका वसन्त रेग्मी एक स्थान खस्किदै ७२ औं स्थानमा पुगेका छन् । सोमपाल कामी ७८ औं स्थानमा छन् । नयाँ वरीयतामा ब्याटिङतर्फ पाकिस्तानका वावर आजम, बलिङमा अफगानिस्तानका कप्तान राशिद खान र अलराउन्डरमा अष्टे«लियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् ।