मैले कसरी लेख्न सिकें….!

मैले धेरै परिमाणमा जीवनका त्यस्ता कठिनाइहरुको अनुभव गरे, जसले गर्दा म जीवनसँग भयभीत हुन्थे । आज म त्यस्तो डरलाई अन्धो मान्छेको डर ठान्दछु । मैले पटक पटक बर्णन गरेजस्तै अत्यन्त कठिन परिस्थितिहरुमा रहेर मैले बालककालदेखि नै मानिसहरुको विवेकहीनता, क्रूरता, बुझ्नै नसकिने वैमनस्य अनुभव गरेको छु र केही मानिसमाथि थोपरिएको ढाड भाँचिने परिश्रम र अर्काथरी मानिसले उपयोग गर्ने गरेको अकुत वैभवबाट म चकित भएको छु ।

धेरै कलिलो उमेरमा नै मैले के बुझे भने आफूलाई ‘ईश्वरको निटकतर’ ठान्ने धार्मिक मानिसहरु उनीहरुका निम्ति काम गर्ने मानिसहरुबाट त्यतिकै परपर हुन्थे र कामदारहरुलाई त्यतिकै निर्दयतापूर्वक बढी काम गर्न माग गर्दै काममा जोताउँथे । मेले के भन्नैपर्छ भने तपाईहरुले जे जति मौका पाउनुभएको छ, त्यो भन्दा कता हो कता जीवनका धेरै हेलापूर्ण कुराहरु मैले देखेको छु ।

किनभने तपाईहरुले आज भेटेको साधारण बुर्जुवा व्यक्ति क्रान्तिबाट त्रस्त छ र आफ्नो स्वभावअनुसार यस्तो हुनु उसको अधिकार हो भन्नेमा ऊ पूर्णतया विश्वस्त छ । मैेले त पूँजीवादको काम राम्ररी संचालन भैरहेको र उसको आरामदायी एवं दुःखरहित जीवन सधैंका निम्ति निर्दिष्ट छ भन्नेमा पूँजीवाद पूर्णतया निश्चिन्त रहेको अवस्था पो देखेको र भोगेको थिए ।

त्यसबेला म विदेशी उपन्यासका अनुवादहरु पढ्दै थिए, जसमा डिकेन्स र बाल्जाकजस्ता भव्य लेखकका पुस्तकहरु र इन्सवर्थ, बुल्वर–लिटन र दुमाका ऐतिहासिक उपन्यासहरु पनि समावेश थिए । यी उपन्यासहरुले दुढ इच्छाशक्ति र अदम्य चरित्रका मानिसहरुको चित्रण गर्दथे, जसका सुख र दुःखहरु मैले देखेका र जानेकाहरुको भन्दा फरक थिए र तिनका द्वेषहरु मैले जानेको बुझेका भन्दा महत्वपूर्ण भिन्नताबाट उत्पन्न हुन्थे ।

जे भए पनि, मेरा चारैतिर कन्जुस र तुच्छ मानिसहरु थिए, तिनको लोभ, शत्रुता र ईष्या, झगडा, मुद्दा, स–साना कुराबाट भनौं छिमेकीको छोराले पोथी कुकुराको खुट्टा भाँचेमा वा झ्यालको सीसा फुटाएमा वा पाई (मासु र फलफुल मिसाएर बनाएको परिकार) बिग्रेमा, बन्दाको सुप बढी उम्लिएमा वा दूध फाटेमा शुरु भैहाल्दथ्यो । पसलेले एक पाउ चिनीमा वा एक गज सुतीको कपडामा एक पैसा भाउ बढाएमा उनीहरु घण्टौंसम्म गनगन गर्न सक्थे ।

छिमेकीकहाँ सानो भन्दा सानो कुनै विपत्ति आइपर्यो भने त्यसले उनीहरु साँच्चिकै खुशी हुन्थे तर, त्यसलाई उनीहरु सहानुभूतिको प्रदर्शनले लुकाउँथे । मैले राम्ररी देखेको छु–साधारण बुर्जुआको स्वर्गको चम्किलो सूर्य पैसा नै हो । त्यही पैसाले नै मानिसहरुका बीच क्षुद्र र घनीलाग्दो वैरभाव बढाउँथ्यो ।

खानपानका भाँडाकुँडाहरु, कुखुरा, हाँस र बन्दाकोवी, रोटी र चर्चगमन, जन्मदिवस र मृत्युसंस्कार, उधुमैको खन्चुवापन र पशुपन यस्तो थियो, तिनको जीवनको अन्तर्वस्तु जसका बीच म हुर्किए । त्यो वाक्कलाग्दो अस्तित्वले कहिले ममा सुसुप्त जडता उमाथ्यो भने कहिले जडताबाट आफूलाई ब्यूँझाउनका लागि उपद्रवी काममा कुद्ने तीब्र व्यग्रता उत्पन्न हुन्थ्यो । संभवतः यस्तो नीरसता नै हुनुपर्छ जसका बारेमा मसँग पत्र व्यवहार गर्ने उन्नाइस वर्षीय युवकले हालसालै निम्न शब्द लेखेका छन् ।

मेरो अस्तित्वका रेसारेसासहित म निष्प्राण बनाउने नीरसतालाई घृणा गर्दछु, जुन नीरसता भान्साघर, गफचुटाइ र चिखपुकारको वरिपरि केन्द्रित हुन्छ ।

वर्णन गरिएको यही नीरसताले मलाई सबै किसिमका उपध्रोहरुमा तान्दथ्यो : म छानाबाट हाम फाल्थे र चिम्नीको नलीमा थाङ्नाहरु कोच्थे, उम्लदै गरेको बन्दाको सुपमा मुठ्ठीका मुठ्ठी नून हाल्थे, घडीमा कुहिरीमण्डल धूलो फ्याँक्थे र सामान्यतया जसलाई गुण्डागर्दी भनिन्छ, त्यसैको अनुसरण गर्दथे ।

यसको कारण के थियो भने जतिखेर ममा म जीवित व्यक्ति हुँ भन्ने अनुभूति गर्ने व्यग्रता उत्पन्न हुन्थ्यो, त्यतिखेर त्यसमा आफूलाई विश्वस्त पार्ने अरु उपाय फेला पार्न म असमर्थ हुन्थे । मेरो अनुभूति कस्तो थियो भने ढलेका रुखका फेदैफेदहरु चारैतिर फैलिएको बाक्लो जंगलमा मैले आफ्नो बाटो हराएको छु, बाक्ला बुटाबुटी र कुहेका पातहरुमा म घुँडासम्म भासिएको छु ।

साभार : मैले कसरी लेख्न सिकें पुस्तकबाट(भाग–९)