भारतले दशगजा मिचेर बनाउन थाल्यो फेरि अर्को बाँध

रौतहट,  दशगजा मिचेर भारतीयले अर्को बाँध बनाउन थालेपछि सीमावर्ती नेपाली बस्तीमा डुबानको त्रास बढेको छ । सीमामा पुरानो बाँधको उचाइ थप्न र अर्को नबनाउन नेपाली पक्षले गरेको अनुरोध बेवास्ता गर्दै पुरानोमाथि बोरामा माटो भरेर थप्ने र नयाँ बनाउन सुरु गरेका हुन् ।

यस्तो गतिविधिले नेपाली बस्तीमा त्रास बढेपछि सुरक्षाकर्मीको निगरानी बढाइएको छ । वाग्मतीदेखि पश्चिमको औरैया र बन्जाराहासम्मको भारतीय बाँधको उचाइ थपिँदै छ ।

भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनियालगायतका बिहारको सहर डुबानबाट बचाउन सीमा क्षेत्रमा १५ फिटभन्दा अग्लो झन्डै ३० किलोमिटर लामो बाँध बनाएपछि नेपालतिर डुबानको समस्या बढेको हो ।

त्यही बाँधको झन्डै ३ फिट उचाइ थप्न भारतले पूर्व क्षेत्रबाट काम सुरु गरेको छ । औरैया क्षेत्रमा नयाँ बाँध बनाउन थालेपछि रौतहट प्रशासनले रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले पिलर नम्बर ३४७ मिचेर बोरामा माटो पुर्ने काम गरेको पाइएपछि रोकेको बताए ।

२०७४ मा ईशनाथको बन्जाराहा क्षेत्र डुबानमा परेपछि १ नम्बर वडामा सीमाको बाँध केही ठाउँ भत्किएको थियो । भारतीय पक्षले त्यसैलाई मर्मतको निहुँमा उचाइ थप्ने काम थालेको हो ।