नरैनापुर गाउँपालिकाको गजबको काइदा अवकाश पाएका नासुलाई पुनः नियुक्ति

नेपालगञ्ज,बाँकेको नरैनापुर गाउँपालिकाले अवकाश प्राप्त कर्मचारीलाई पुनः कर्मचारीमा नियुक्त गरेको रहस्य बाहिरिएकाे छ । साविकको नरैनापुर गाविसमै सचिव रहेका नायब सुब्बा मोहम्मद इस्माइल खाँलाई अवकाशपछि पनि गाउँपालिकाले पुनः नियुक्त गरेको रहस्य बाहिर आएको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा ३३ बमोजिम व्यक्तिगत विवरण (सिटरोल) मा उल्लेखित जन्ममिति अनुसार २०७५ मङ्सिर ३ गते ५८ वर्ष पूरा भएपछि उहाँले अनिवार्य अवकाश पाएका थिए । अनिवार्य अवकाशपछि पनि उनी हालसम्म नरैनापुर गाउँपालिकामै कार्यरत रहेको पुष्टि भएको छ ।

कर्मचारी सङ्केत नं। १२२३३६ रहेका खाँ अनिवार्य अवकाश भएको भन्दै मिति २०७५ वैशाख ७ गते नै जिल्ला समन्वय समितिलाई जानकारी पत्र पठाइसकिएको छ । उक्त पत्र मिति २०७५ वैशाख २६ गते जिल्ला समन्वय समितिमा दर्ता भएको देखिन्छ । तर उनी हालसम्म पनि नरैनापुर गाउँपालिकामै कार्यरत छन् ।

अवकाश प्राप्त कर्मचारी खाँ अहिले पनि गाउँपालिकाको जिन्सी प्रशासन तथा खरिद एकाइ प्रमुखका रूपमा कार्यरत रहेको गाउँपालिकाको वेबसाइटमा समेत देखिन्छ । उनले राज्यकोषको चरम दुरुपयोग गर्दै दोहोरो सुविधा लिइरहेको अन्य कर्मचारीहरु बताउँछन् ।

उनले अवकाशपछि पाउने निवृत्तिभरण, औषधोपचार र अन्य सुविधाहरुका साथै गाउँपालिकाको कर्मचारीका रूपमा तलब भत्ताका साथै अन्य सेवा सुविधा लिँदै आएका छन् । स्थायी कर्मचारीलाई पन्छाएर अवकाश लिइसकेका कर्मचारीलाई पुनः नियुक्ति गरी महत्वपूर्ण जिम्मेवारी दिएपछि गाउँपालिकाका कर्मचारीहरुसमेत रुष्ट बनेका छन् । गाउँपालिकाका एक कर्मचारीले भने, ‘स्थायी कर्मचारीलाई जिम्मेवारी नदिएर अवकाश लिइसकेका कर्मचारीलाई पुनः नियुक्त गरेर महत्वपूर्ण शाखामा हालीमुहाली गर्न दिइएको छ ।

’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले अवकाश प्राप्त कर्मचारी खाँ गाउँपालिकामै कार्यरत रहेको स्वीकार गरे पनि थप जानकारी दिन चाहेनन् । यस विषयमा जनप्रतिनिधिहरुसँग बुझ्न भन्दै उनी पन्छिए । गाउँ कार्यपालिकाले निर्णय गरेको भन्दै उनले भने, ‘जनप्रतिनिधिसँग बुझ्नुस्, उहाँहरुले गरेको निर्णयबारे मलाई थाहा छैन ।’ गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले आफूलाई यस विषयमा जानकारी नभएको बताए ।

उनले भने, ‘अहिलेसम्म भएको व्यवस्थाअनुसार ५८ वर्षमा अनिवार्य अवकाश हुनुपर्छ, उहाँले काम गरिरहनुभएको छ, मलाई थाहा भएको त्यतिमात्रै हो । नियुक्ति कसरी र कहिले हुनुभयो भन्ने मलाई थाहा छैन ।’ कर्मचारीले दोहोरो सुविधा लिन नपाउने व्यवस्था भए पनि इस्माइल खाँले निवृत्तिभरणसँगै गाउँपालिकाबाट पाउने सेवा सुविधा लिइरहनुभएको त्यहाँ कर्मचारीहरूको गुनासो छ । यस विषयमा मोहम्मद इस्माइल खाँसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।