प्रतिपक्षी सांसदको चुनौतीः आँट छ भने सरकारले कश्मीर मुद्दामा बोलोस्

राष्ट्रियसभा बैठक

काठमाडौं ,राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको कश्मीर मुद्दामा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले कश्मीर समस्याबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताए।

छिमेकी मुलुकहरुले आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्‍नु सफल कुटनीति नहुने भन्दै उनले राष्ट्रिय सहमतिका साथ सरकारले धारणा सार्वजनिक गर्नुपर्ने उल्लेख गरे। ‘नजिकबाट नियकाल्दैछौं भनेर परराष्टमन्त्रीज्यूले भन्नुभयो। यो नियाल्ने काम कहिलेसम्म हुन्छ। कहिलेसम्म नियालिराख्‍ने?’, उनले सोधे, ‘आँट छ भने यो सरकारले बोलोस्।

के बोल्छ बोलोस्। अनि नेपाली कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ।’ पछिल्ला कार्यशैलीले सरकार उत्तर (चीन) तिर फर्कने प्रत्यन्त गर्दै छ भन्‍ने सन्देश गएको उल्लेख गर्दै उनले यस्तो सन्देशले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिए।

भारतसँगको कुटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुदा पर्न सक्नेतर्फ सचेत गराउँदै उनले सामाजिक, राजनीतिक र आर्थिक असरबारे समयमै सोच्न आग्रह गरे। उनले नेपाल-भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाए।

१९ सय ५० को सन्धिबारेमामा नेपालले आफ्ना कुरा राख्‍न नसकेकोमा पनि उनले असन्तुष्टि जनाए। उनले भने, ‘व्याक टु मंगलमान भयो। घुमिफिरी रुम्जाटार भयो।’ २०४८ साल मै उठेको विषयमा अहिले पनि अगाडि नबढेर आवश्यक ‘रोडम्याप’ बनाउन दुवै देशका परराष्ट्र सचिवलाई दिएको निर्देशनलाई उपलब्धि मान्न नसकिने तर्क उनले गरे।