नेपाल प्रहरीमा ३८ सय कर्मचारी माग

८ पास गरेकाले समेत आवेदन भर्न पाउने

काठमाडौं,नेपाल प्रहरीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रहरीले प्रहरी जवान (जनपद) तथा कार्यालय सहयोगीअन्तर्गत भान्छे, हजाम, कुचिकार र खेलाडी पदका लागि कर्मचारी माग गरेको हो ।

प्रहरी जवानका लागि ३ हजार ५ सय ९६ जनाबाट दरखास्त आह्वान गरिएको छ । यस्तै, कार्यालय सहयोगीअन्तर्गत भान्छेतर्फ १ सय ८०, हजामतर्फ १०, कुचिकारतर्फ २० र खेलाडीतर्फ २५ जना कर्मचारी माग गरिएको छ ।

प्रहरी जवान पदमा दरखास्त दिने व्यक्तिको शैक्षिक योग्यता ८ पास तोकिएको छ । यस्तै, कार्यालय सहयोगीअन्तर्गत जुनसुकै पदमा काम गर्न सामान्य लेखपढ गर्न जान्ने र सम्बन्धित क्षेत्रमा दक्षता भएको हुनुपर्ने छ ।

प्रहरीले कार्यालयसहयोगीअन्तर्गत खेलाडीतर्फको पदमा फुटबल (महिला/पुरुष) भलिबल (महिला/पुरुष), टेबुलटेनिस, कराँते, तेक्वान्दो, जुडो, पुरुष क्रिकेट र भारोत्तलोन बिधातर्फका खेलाडीले मात्रै आवेदन दिनसक्ने जनाइएको छ ।

प्रहरीले आह्वान गरेको दरखास्तमा भदौ ९ गतेदेखि असोज १३ गतेसम्म आवेदन दिन सकिने प्रहरीको भर्ना छनौट महाशाखाले जनाएको छ ।