ओली सिंगापुर हिडेपछि प्रचण्ड र नेपालबीच वार्तालाप

काठमाडाैँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य माधवकुमार नेपालबीच पार्टीभित्र देखिएको तनावलाई सहजीकरण गर्ने विषयमा छलफल भएको छ।

दुवै नेताहरुबीच शुक्रबार प्रचण्ड निवास खुमलटारमा करिब दुई घण्टा छलफल भएको थियो। ‘दुवै नेताहरुबीच पार्टीको कामको बारेमा छलफल भएको छ,’ अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले नेपालखबरसँग भने।

बिहीबार भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेस्रो वरीयताका नेता नेपालबीच निकै चर्काचर्की भएको थियो। बिहीबार नै अध्यक्ष ओली उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।

अध्यक्ष ओली सिंगापुर प्रस्थान गरेको भोलिपल्टै अर्का अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

अध्यक्ष प्रचण्ड र नेपालबीच के के विषयमा छलफल भयो भन्नेबारे जानकारी गराइएको छैन। तर, नेपालसँगका भेट लगत्तै प्रगतिशील इन्जिनियरिङहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्र अनुशासन कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

उनले पार्टीका नेताहरु जे मन लाग्यो त्यही बोल्न थालेको र अनुशासन कम भएको भन्दै अध्यक्ष ओली र नेता नेपालबीचको भनाभनप्रति संकेत गरेका थिए। अध्यक्ष ओली र नेता नेपालबीच चर्काचर्कीको विषयमा बाहिरिए लगत्तै दुवै नेताहरुको आलोचना शुरु भएको छ ।