अब भारतसँग वार्ता हुँदैनः इमरान खान

काठमाडौं,पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् । उनले कश्मिरको विषयमा अब भारतसँग वार्ता नगर्ने बताएका हुन् ।

अमेरिकाको ‘न्यूयोर्क टाइम्स’ पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले कश्मिरको विषयमा भारतसँग सैन्य टकरावको खतरा रहेको बताए ।

पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ताका लागि धेरै कोसिस गरेपनि उनले अस्वीकार गरेको बताए । भारत प्रशासित कश्मिरको स्वायत्तता अन्त्य गरेको विषयलाई लिएर भारतको हिन्दु राष्ट्रवादी सरकार पाकिस्तानी प्रधानमन्त्रीको निशानामा छ ।

प्रधानमन्त्री खानले मोदी सरकारलाई ‘नाजी’ सरकारसँग तुलना गर्दै उसले कश्मिरमा नरसंहार मच्चाउन सक्ने समेत आशंका गरेका छन् ।

पाकिस्तानले यस विषयलाई संयुक्त राष्ट्र संघमा समेत कुरा पर्‍याएको छ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिरको अवस्था ‘विस्फोटक’ रहेको बताएका छन् । चीनलगाय विश्वका अन्य शक्तिशाली देशहरुले पनि भारतले कश्मीरबारे चालेको कदमको विरोध गरेका छन् ।

भारतले कश्मीरलाई दिएको विशेषाधिकार संवैधानिक अधिकार कटौती गरेर केन्द्र नियन्त्रणमा राख्ने निर्णय गरेसँगै कश्मीरीहरु जीवन मरणको लडाइँ भन्दै सडकमै छन् ।

इन्टरनेट र संचार सेवा समेत कटौती गरेर कश्मीरमा भारतले दमन गरेपनि त्यो चौतर्फी विरोध भइरहेको छ ।