प्रचण्डलाई शक्तिशाली बनाएर प्रधानमन्त्री ओली सिंगापुर जाँदै

काठमाडौँ ,पार्टी एकता र दुई अध्यक्षको व्यवस्थापछि पुष्पकमल दाहाल प्रचण्डलाई शक्तिशाली बनाएर प्रधानमन्त्री ओली सिंगापुर जाँदैछन । पार्टी एकतापछि प्रचण्डले पहिलोपल्ट पूर्णकार्यकारी अधिकार प्राप्त गरेका छन् ।

प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारका लागि १० दिनमा दोस्रोपल्ट सिंगापुर जानु भन्दा दुई घण्टाअघि नेकपा केन्द्रीय सचिवालयको बैठकमा यस्तो निर्णय लिइएको हो।

वरिष्ठ नेता माधव नेपालविरुद्ध अध्यक्षद्वयको नयाँ समिकरण बनेपछि ओलीले आफ्नो अनुपस्थितिमा पार्टी सम्बन्धमा महत्वपूर्ण कार्यकारी निर्णय लिन दाहाललाई अधिकार सुम्पेका हुन् ।

यस अनुसार अब उपरान्त सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा पनि पार्टीका सम्बन्धमा महत्वपूर्ण निर्णय गर्न पाउने भएका छन् ।

नेकपाको बिहीबार बिहान बसेको केन्द्रीय सचिवालयको बैठकले ओलीको अनुपस्थितिमा पनि प्रचण्डले पार्टी एकताका बाँकी प्रक्रियासहित पार्टीसँग सम्बन्धी अरु विषयमा निर्णय लिन सक्ने अधिकार प्रचण्डलाई प्रत्यायोजन गरेको हो ।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यसअघि आफू बाहिर भ्रमण या उपचारका लागि जाँदा प्रचण्डलाई यस्तो अधिकार दिने गरेका थिएनन् । जसका कारण पार्टीका महत्वपूर्ण बैठक तथा निर्णय प्रक्रिया रोकिने गरेको थियो ।

तर यसपटक ओलीले प्रचण्डलाई आधारिकारिक निर्णय गर्न पाउने अधिकारसहितको जिम्मा लगाएका हुन् । हालै भएको सहमति अनुसार ओली तथा प्रचण्ड एक खेमामा समाहित भएको र नेता माधवकुमार नेपाल एक्लिएको घटनालाई यसले थप बल प्रदान गरेको छ ।

यस्तै प्रचण्ड पार्टीमा थप शक्तिशाली बनेको पनि विश्लेषण गरिएको छ । केही दिनअघि झलनाथ खनाललाई वरिष्ठ नेता बनाएर नेपाललाई घटुवा गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार दिउँसो साढे १ बजे सिंगापुर जाँदै छन् । उनको स्वास्थ्य अवस्था र उपचारका बारेमा सचिवालय बैठकमा जानकारी गराइएको थियो ।