सुमार्गीको कम्पनी स्याटेलाइटको लाइसेन्स खारेज

काठमाडौँ ,नेपाल दूरसञ्चार प्राधिकरणले व्यापारी अजयराज सुमार्गीको स्वामित्व रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमति पत्र खारेज गरेको छ । प्राधिकरणले दिएको समयसीमा भित्र बक्यौता रकम नतिरेपछि अनुमति पत्र खारेज भएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आइतबार बसेको प्राधिकरणको बोर्ड बैठकले नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज गर्ने निर्णय भएको जानकारी दिए ।

साउन १८ गते बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले नेपाल स्याटेलाइटलाई १५ दिनभित्र ७ करोड र ३ महिनाभित्र बाँकी रकम तिर्न म्याद दिएको थियो । अन्तिम पटक म्याद तोक्दै भदौ १ गतेसम्म ७ करोड रुपैयाँ रकम बुझाउन प्राधिकरणले समयसीमा दिएको थियो । तोकिएको म्याद पनि रकम बुझाउन नसकेपछि अनुमति पत्र खारेज भएको हो ।

उसले प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । नेपाल स्याटेलाइटले हेलो नेपाल ब्राण्डमा सेवा प्रदान गर्दै आएको छ ।

प्राधिकरणबाट नेपाल स्याटेलाइटले ग्रामीण दूरसञ्चार सेवाको अनुमति पत्र पाएको थियो । उसले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पुर्‍याउने सर्तमा २०६४ फागुन ५ मा अनुमति पत्र पाएको थियो ।

प्राधिकरणले गत चैतमा बक्यौता बाँकी रहेको दुरसञ्चार सेवा प्रदायकलाई असार मसान्तसम्म बक्यौता तिर्न निर्देशन दिएको थियो ।