संचालनमा आयो‘कन्या विद्यालय’

नेपालगन्ज, बाँकेको नेपालगन्जमा कन्या विद्यालय संचालनमा आएको छ ।  मधेसी र मुस्लिम समुदायका बालबालिकालाई लक्षित गर्दै कन्या विद्यालय संचालनमा आएको हाे । नेपालगन्ज उपमहानगरपालिकाकाे बिशेष पहलमा विद्यालय संचालन भएको हो ।

सल्यानीबागस्थित नेपाल आधारभूत प्राथमिक विद्यालयमा छात्रा मात्र अध्ययन गर्न पाउने गरी विद्यालय सञ्चालनमा ल्याईएको उपमहानगरपालिकाले जनाएको छ । जिर्ण रहेको विद्यालयमा उपमहानगरपालिकाले ९० लाखको लागतमा विभिन्न संरचनाहरु निर्माण गरी अध्ययन अध्यापन सुरु गरेको हो ।

विद्यालयमा छोरी मात्र पढ्ने भएपछि खासगरी मधेशी र मुस्लिम समुदायका बालबालिकाको उत्साहजनक सहभागिता बढेको छ । विद्यालय सञ्चालनमा आएपछि विद्यार्थी पढाउन छाडेर घरमै राख्ने अभिभावक पनि छोरीलाई भर्ना गराउन थालेका छन् । गतवर्ष १ सय २० जना छात्र र छात्रामात्र अध्ययन गर्ने यस विद्यालयमा विद्यार्थी संख्या बढेर २ सय ४७ पुगेका छन् ।

शैक्षिक गुणस्तरमा सुधारका साथै छात्राहरू मात्र पढ्न पाउने भएपछि विभिन्न विद्यालय छोडेर भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको छ । यस शैक्षिक सत्रमा मात्र ५० बढी विद्यार्थीहरु नेपालगञ्जका विभिन्न नीजि विद्यालयबाट यहाँ भर्ना भएका छन् ।