रोहित शर्मा बने अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का हान्ने खेलाडी

एजेन्सी, भारतीय ब्याट्सम्यान रोहित शर्मा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन् ।रोहितले सर्वाधिक एक सय सात छक्का हान्दै यसअघि वेस्ट इन्डिजका क्रिस गेलको नाममा रहेको किर्तिमान तोडेका हुन् । संयोगबस रोहितले वेस्ट इन्डिजविरुद्धकै खेलमा नयाँ किर्तिमान बनाए ।

रोहितले आइतबार राति अमेरिकामा भएको वेस्ट इन्डिजविरुद्वको खेलमा दुई छक्का प्रहार गरेर गेलको किर्तिमान भंग गरेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा आफ्नो ९६औं खेल खेलेका रोहितको कूल एक सय सात छक्का भएको छ । गेलले यसअघि ५८ खेल खेल्दै एक सय पाँच छक्काको किर्तिमान बनाएका थिए ।

सर्वाधिक छक्का प्रहार गर्ने तेस्रो खेलाडीको सुचीमा न्युजिल्यान्डका मार्टिन गुप्टिल छन् । गुप्टिलले ७६ खेलमा एक सय तीन छक्का हानेका छन् ।

रोहितको नाममा टी–२० मा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान समेत बनेको छ । रोहितले अहिलेसम्म चार शतक र १७ अर्धशतक प्रहार गरेका छन् । उनले न्युजिल्यान्डका कोलिन मुनरोको तीन शतकको कीर्तिमान समेत भंग गरेका हुन् ।

रोहितको नाममा टी–२०मा सर्वाधिक रन बनाउने खेलाडीको किर्तिमान समेत बनेको छ । उनले ९६ खेलको ८८ इनिङमा कुल २४ सय २२ रन बनाएका छन् ।