यसरी तुहियो विश्वकप खेल्ने नेपालको सपना

सिंगापुरसँग ८२ रनले पराजित

काठमाडाैँ ,आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोर्दै नेपालको सन् २०२० को टी–२० विश्वकप खेल्ने सपना तुहिएको छ ।

जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए ।

कप्तान पारसले १२ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए । मध्यक्रमका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।

सिंगापुरका लागि सेलाडोर विजयाकुमारले ४ विकेट लिँदै नेपालको ब्याटिङक्रमलाई ध्वस्त बनाएका थिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो।

सिंगापुरका लागि टिम डेभिडले सर्वाधिक ७७ रन बनाए । विस्फोटक ब्याटिङ गरेका उनले ४३ बल सामना गर्दै ८ चौका र ३ छक्का हिर्काए ।

त्यस्तै, ओपनर रोहन रंगाराजनले ३३ बलमा ४९ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र ४ छक्का हिर्काए । विकेटकिपर मनप्रित सिंहले पनि २७ बलमा ४२ रन बनाउँदै सिंगापुरलाई विशाल लक्ष्यतर्फ डोर्याए । उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए ।

नेपालका लागि अभिनाष बोहराले कसिलो बलिङ गर्दै ४ विकेट लिए । चार ओभर बलिङ गर्दै उनले ३५ रन खर्चिए । त्यस्तै करण केसीले ३ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट लिए ।

आजको खेलमा नेपालका दुई स्पीनर सन्दीप लामिछाने र बसन्त रेग्मी निकै महंगो साबित भए । दुवैले कुनै विकेट लिन सकेनन् र ७ ओभरमा ८८ रन खर्चिए । नेपाललाई हराउँदै सिंगापुरले अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको छ ।

ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ टोलीले २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउने छ । पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसयता मलेसिया र कुवेतलाई हराएको थियो ।