गुल्मीमा पहिरो, ६ जनाको मृत्यु, १० जना वेपत्ता

गुल्मी, गुल्मीको सत्यवती गाउँपालिकामा भीषण पहिरो गएको छ । पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने १२ जना वेपत्ता भएका छन् ।

सत्यवती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा भीषण उक्त पहिरो गएको हो । पहिरोमा परेका दुई जनाको उद्धार गरिएको छ । गए राति खसेको पहिरोले घर भत्काउँदा यति ठूलो मानवीय क्षति भएको हो ।

सत्यवती गाउँपालिकाकै लिंघाको भिरकुनामा पनि चार वटा घर पहिरोले पुरेको छ । सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले पहिरो गएको क्षेत्रमा प्रहरी र स्थानीय लागेर उद्धारको काम भइरहेको जानकारी दिए ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिएका छन । पहिरोमा परेर मृत्यु हुनेमा ठूलो लुम्पेगकी ३२ वर्षीय तिलकुमार त्रामु, उनका नौ वर्षका छोरा दर्शन त्रामुकाे पहिचान भएकाे छ ।

त्यसैगरी वडा नम्बर ४ लिंघामा ६५ वर्षीया छल्ली विक, २८ वर्षिया पम्फा विक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकको पनि पहिरोले पुरेर मृत्यु भएको छ ।

राति सुतिरहेको अवस्थामा अाएकाे पहिराेले घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा सत्यवती–४ कि १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु रहेका छन् ।

सदरमुकामबाट ठूलो लुम्पेक ३५ किमी र लिंघामा २० किमी टाढा रहेको छ । गुल्मीका रिडी रुद्रबेनी र वामी टक्टर सडकखण्ड अवरुद्ध भएकाले प्रभावित ठाउँमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ । भारी वर्षापछि आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित पारेको छ । कतै सडक अवरुद्ध भएका छन् भने कतै पहिरो र बाढीको समस्या बढेको छ ।