खाडिचौर-दोलखा-जिरी सडकखण्ड सुधारको लागी तिन दिनको अल्टिमेटम

सुधार नगरे ठेक्का रद्ध गर्ने चेतावनी

रामेछाप, चार जिल्लाको लाइफ लाइनको रुपमा रहेको लामोसाँघु जिरी, दोलखा, रामेछाप सडक खण्ड स्तोरन्नतीको काम यो वर्ष पनि नसकिएपछी तिन दिन भित्र सुधार गरेर यातयात सञ्चालन गर्न सहज नगरे ठेक्का तोड्ने सडक डिभिजन कार्यालयले चेतावनी दिएको छ ।

सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा लगायतका जिल्लाको लाइफ लाईनको रुपमा रहेको सडक स्तोरन्नतिको काम भइरहेको छ । ठेकेदारको चरम लापरवाहीका कारण निर्माणमा ढिलाइ भएकाे छ । वर्षा सुरु हुनासाथ सवारी साधन सञ्चालनमा समस्या र यात्रुहरुले चरम दुःख पाएपछि लामोसाँघु-जिरी सडक सुधार योजनाले आइतबार सूचना प्रकाशित गरेर तिन दिनभित्र सडक सुधार नगरे ठेक्का नै रद्द गर्ने चेतावनी दिएको छ । ‘हामीले पटक-पटक काम सम्पन्न गर्न ताकेता गरेका छौं,’ लामोसाँघु जिरी सडक सुधार आयोजनाका प्रमुख धर्मेन्द्र झाले भने, ‘यो वर्षमा पनि सडकमा समस्या भएपछि सुधार गर्न म्याद दिएका छौं । वर्षातको समयमा सहज रुपमा यातयात सञ्चालन गर्ने वातवरण बनाउन निर्माण व्यवासायीलाई अनुरोध गरे पनि नटेरेकाे उनले बताए ।

ठेकेदारहरुले साइटमा राखेको निर्माण सामग्रीबाटै सडक सुधार गर्ने र त्यसको सबै जिम्मेवारी ठेकेदार कम्पनीबाटै बेहाेर्न लगाउने निर्णय भएको झाले जानकारी दिए । सडक सुधार नभए सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४(संशाेधनसहित) बमोजिम ठेक्का सम्झौता तोडी कार्यसम्पादन जमानत तथा धरौटी रकम जफत गर्नुको साथै प्रचलित कानुन बमोजिम गरिने झाले बताए ।

सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकारको सहयोगमा निर्माण भएको अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट दोलखाको जिरी सम्म ११० किलोमिटर लामोसाँघु जिरी सडकको चौडा बढाउने कार्य भैरहेको छ । अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरउन्नती कार्य दुई बर्ष अर्थात २०१७ को अक्टोबरसम्ममा सकिनुपर्नेमा हालसम्म जम्मा ५० प्रतिशत पनि काम सकिएको छैन । भ्याटसहित ५१ करोड ४४ हजार ८ सय १० रुपियाँको लागतमा सडक चौढा गर्नै र कालोपत्रे गर्नै जिम्मा दिइएको थियो । २०१५ को जुन ३ मा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको मितिले दुइ वर्ष अर्थात २०१८ जुलाई १५ मा सडक निर्माण सम्पन्न गर्नुपर्नै लामोसाँघु तामाकोशी जिरी सडक सुधार आयोजनाका प्रमुख झा ले बताए ।

भारतिय एक्जिम बैंकको लगानीमा सडक चौडा बनाउन खाडीचौरदेखी मुडेसम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा लिएको कम्पनी यस अघि नै काम छाडेर बेपत्ता भएका थिए । खाडीचौरदेखी मुढेसम्म सुनौलो खिम्ती र भारतीय सिमाञ्चल र नेपाली गौरी पार्वतीले कम्पनीले यसको जिम्मा लिएका थिए । सुनौलो खिम्ती बेपत्ता भएपछि यो सडक खण्डको निर्माणको जिम्मा पनि नेपाली गौरी पार्वतीलाई नै दिइएको छ ।

त्यस्तै मुडे बाट चरिकोट सम्मको ३० किलोमिटर सडक स्तोरन्नतीको को जिम्मा भारतको सकिल हैदर, शंकर माली र नेपालको सुनौलो खिम्तीले पाएको थियो । २०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक मर्मत कार्य सक्नु पर्नै भएपनि यो खण्डको काम समेत सकिएको छैन । भ्याट सहित ९१ करोड ९४ लाख ९४ हजारमा सडक कालोपत्रे र चौडा बनाउनु पर्ने आयोजना प्रमुख झा ले बताए ।

निर्माण कम्पनी सीमाञ्चल–गौरी पार्वती–सुनौलो खिम्ती जेभीले खाडीचौरको जिरोदेखि मुडे नजिकै २५ किलो सडक सुधारको जिम्मा पाएको थियो । जिरो देखि ८ किलोसम्म कालोपत्रे सकिए पनि त्योभन्दा माथि सब बेसको काम सकिएको लिसंखु्पाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले वताए । ‘सडक खनेर कमसल खालको बेस राख्दा वर्षामा समस्या देखियो,’ अध्यक्ष नेपालले भने, ‘लामोसाँघु जिरी सडकको १३ किलोदेखि १८ किलोसम्मको सडकमा व्यापक समस्या छ । तीन दिनभित्र सडक सुधार हुने हामीले अपेक्षा गरेका छौं । सडकमा नै भल बग्छ । बर्खे झरीमा सडकमै पानीको भल बग्न थालेपछि यो सडकमा सवारी साधन आवतजावत गर्न सक्दैनन् । मालवाहक ट्रक तथा टिपर हिलोमा फसेपछि लामोसाँघु–जिरी सडकखण्डका विभिन्न स्थानमा दैनिकजसो यातायात अवरुद्ध हुँदै आएको छ । ‘कति ठाउँमा त गाडी नै पल्टिएला जस्तो हुन्छ, जोखिम मोलेर गाडी चलाउनुपरेको छ ।

खाडीचौरबाट मुडे जाँदै गरेका ट्रक चालक सुजन गहतराज भन्छन्,‘ठेकेदारको लापर्वाहीले सयौं मानिस जोखिममा यात्रा गर्न बाध्य छन्,’ उनले भने । यो सडक हुँदै स्कुल बस र एम्वुलेन्स नै सहज रुपमा आवतजावत गर्न सक्दैनन् । सडकको दुर्दशाका कारण एम्वुलेन्स नै सहज रुपमा चल्न नसक्दा बिरामीलाई समयमै अस्पताल पु-याउन समेत नसकिने अवस्था छ । अस्पतालमा उपचार गराएर घर फर्किएका बिरामीहरु चरिकोटसम्म पुग्दा पुनः बिरामी हुने अवस्था छ ।खाडीचौर–चरिकोट सडक खण्डको अवस्था नाजुक बनेपछि याे सडक हुँदै चल्ने अधिकांश सार्वजनिक यातायात र नीजि सवारी साधनहरु पछिल्लो समय खुर्कोट हुँदै चल्न थालेका छन् ।

सडकका कारण विद्यालय नै सञ्चालन गर्न नसकेको खाडीचौरस्थित सदाबहार एकेडेमीका अध्यक्ष दिनेश थापा बताउँछन् । यो सडक हुँदै स्कुल बस नै सञ्चालन गर्न नसकेपछि अघिल्लो एक साता विद्यालय बन्द गर्नुपरेको उनले सुनाए ।