भारतीय गुप्तचर संस्था रअका प्रमुख सुटुक्क किन पुगे प्रचण्ड निवासमा

काठमाडौं, भारतीय गुप्तचर संस्था रअका प्रमुख दलबलसहित नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डनिवास पुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका रअ प्रमुख सामन्त गोयल सोमवार विहान प्रचण्डनिवास पुगेका हुन् ।

नेकपामा भइरहेको कार्यविभाजन र प्रमुख विभागहरुको संयोजक तोक्ने विषयमा प्रचण्ड निवासमा हिँजो आइतवारदेखि वार्ता भइरहेको थियो ।

पूर्व माओवादीको भागमा परेको १४ वटा विभागका लागि नेताहरुलाई जिम्मेवारी तोक्न पूर्वमाओवादी नेताहरुको छुट्टै बैठक प्रचण्ड निवासमा बसेको थियो । सोही विषयको फलोअपका लागि प्रचण्ड निवासमा पुगेका सञ्चारकर्मीहरुले सोमवार विहान रअका प्रमुख प्रचण्डलाई भेट्न निवासमै पुगेको देखेपछि यो समाचार बाहिर आएको हो ।

प्रचण्ड निवास पुगेका एक सञ्चारकर्मीले सोमवार विहान करिब साढे ८ वजे रअ का प्रमुख सामन्त गोयल अन्य केही प्रतिनिधि सहित प्रचण्ड निवास पुगेको बताए । गोयललाई स्वागत गर्न प्रचण्ड आफै ढोकासम्म आएका थिए ।

गोयललाई भित्र लगेपछि मुख्य बैठकमा अन्य प्रतिनिधिसँगै उनीहरुबीच कुराकानी भएको बताइएको छ । त्यसपछि प्रचण्ड र गोयल मात्र माथिल्लो कोठातिर लागेको र उनीहरुबीच करिब आधा घण्टा एक्लै गोप्य कुराकानी भएको स्रोतको दावी छ ।

प्रचण्डलाई भेट्न गायलसंगै अन्य प्रतिनिधिहरु तीनवटा भरतिय गाडि सहित प्रचण्ड निवास पुगेका थिए ।