तिन महिना देखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा सुचारु

रामेछाप, रामेछाप जिल्लामा ३ महिनादेखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा पुन सुचारु भएको छ ।

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट संचालन भैरहेको यो सेवा दक्ष चिकित्सकको अभावमा २०७६ बैशाख १२ गतेदेखी बन्द भएको थियो ।

चिकित्सको अभावमा बन्द भएको आकस्मीक जटिलतायुक्त प्रसुती शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र आर्थिक बर्ष २०७६/७७ को श्रावण महिनाबाट संचालनमा ल्याइएको मन्थली नगरपालिका स्वास्थ्य संयोजक केशवराज फुयालले वताए ।

२०७३ बैशाख महिनाबाट संचालनमा आएको आकस्मीक जटिलतायुक्त प्रसुती शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र कहिले बजेट अभाव त कहिले दक्ष चिकित्सको अभावमा पटक – पटक बन्द हुदै आएको छ । जसका कारण रामेछाप, ओखलढुँगा, सिन्धुली र दोलखाका गर्भवती महिलाको शल्यक्रिया गर्नु पर्दा खुर्काेट वा धुलीखेल, काठमाडौ पुर्‍याउनु पर्ने बाध्यता रहेको छ ।

नगरपालिका स्वास्थ्य संयोजक फुयालले मन्थली प्राथमिक स्वास्थ्य केन्द्र आकाशेमा सारिए संगै आवश्यक सवै व्यवस्थापन मिलाएर शल्यक्रिया सहितको प्रसुति सेवा फेरी सुचारु गरिएको बताए ।

विभिन्न समस्याका कारण सेवा बन्द भएपनी अागामी दिनमा यसलाई निरन्तरता दिन मन्थली नगरपालिकाले बलियो योजना बनाएको छ ।आकस्मीक जटिलतायुक्त प्रसुती शल्यक्रिया गर्न यस क्षेत्रका महिलाहरुलाई अव अन्यन्त्र जानुनपर्ने संयोजक फुयालले बताए ।