नेकपामा रस्साकस्सी संगठन विभागमा सबैभन्दा बढी

वामदेवले संगठन र माधव नेपालले विदेश विभागको जिम्मेवारी पाउने सम्भावना !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण घोषणा भएको १४ महिनापछि बल्ल सांगठनिक एकीकरणले पूर्णता पाउने भएको छ । मापदण्डका आधारमा दुई पार्टीबीच भागबण्डा मिलेसँगै संगठनात्मक संरचनाले पूर्णता पाएको हो ।

पार्टीमा सबैभन्दा शक्तिशाली विभाग मानिएको संगठन विभाग जिम्मेवारी वामदेव गौतमले पाउने सम्भावना देखिएको छ । ३२ विभागको भागबन्डामा सङ्गठन विभाग तत्कालिन एमालेको कोटामा परेको थियो । जसमा गौतमको नाम करिव करिव टुंगिएको हो ।

बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पूर्व एमालेका नेताहरुको बैठकले संगठन विभागको जिम्मेवारी नेता गौतमलाई दिन सहमत भएका वालुवाटार स्रोतले जनाएको छ ।

पार्टीका संगठनात्मक संरचनाले पूर्णता पाएसँगै नेकपामा शक्ति सन्तुलन पनि स्पष्ट देखिएको छ ।

सचिवालयः पूर्व एमाले ६, पूर्व माओवादी ३

पार्टी एकीकरण लगत्तै पूर्णता पाएको ९ सदस्यीय सचिवालयमा तत्कालिन एमालेको कोटाबाट ६ नेता सचिवालयमा छन् । यस्तै तत्कालिन माओवादीको कोटाबाट ३ नेता सचिवालयमा छन् । तत्कालिन एमालेमा पूर्व प्रधानमन्त्रीलाई सचिवालयमा सहभागी गराउने सहमति अनुसार बहुमत सदस्य संख्या तत्कालिन एमालेको छ । सचिवालयनै अहिले पार्टीको निर्णयक निकाय बनेको छ ।

स्थायी कमिटीः पूर्व एमाले २६, पूर्व माओवादी १९

नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा तत्कालिन एमालेको कोटाबाट २६ र तत्कालिन माओवादीको कोटाबाट १९ नेता सदस्य छन् । पार्टी विधानले स्थायी कमिटीलाई निर्णायक मानेको छ । यद्यपि यो कमिटीबाट अहिलेसम्म कुनै निर्णय हुन सकेका छैनन् ।

केन्द्रीय कमिटी ः पूर्व एमाले २४१, पूर्व माओवादी २००

नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालिन एमालेको संख्या २४१ छ । तत्कालिन माओवादीका २०० केन्द्रीय सदस्य छन् ।

प्रदेश कमिटीः पूर्व एमाले ६, पूर्व माओवादी १

सात प्रदेश कमिटीमा तत्कालिन एमालेबाट ६ प्रदेशमा इन्चार्ज छन् भने एउटा प्रदेशमा मात्रै तत्कालिन माओवादीको इन्चार्ज छ । प्रदेश कमिटीमा २८ पदाधिकारी (इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव) छन् । जसमा प्रदेश अध्यक्षमा तत्कालिन एमालेका २ र तत्कालिन माओवादीका ५ अध्यक्ष छन् । प्रदेश कमिटीको भागबन्डामा प्रदेश पदाधिकारीसहित प्रदेशसदस्य संख्यामा ५३.३९ प्रतिशत तत्कालिन एमाले र ४६.६० प्रतिशत तत्कालिन माओवादीका नेता छन् ।

जिल्ला कमिटीः पूर्व एमाले ४४, पूर्व माओवादी ३३

७७ जिल्ला कमिटीको नेतृत्वमा ४४ जिल्लामा तत्कालिन एमालेको र ३३ जिल्लाको नेतृत्व तत्कालिन माओवादीको भागमा परेको छ । यस्तै ४४ जिल्लामा तत्कालिन माओवादीतर्पmका नेता सचिव छन् भने ३३ जिल्लामा तत्कालिन एमालेका नेता सचिव छन् । जिल्ला कमिटीको सदस्य संख्या न्युनतम १२५ सदस्यीय हुने तर एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र बरावर थप १० सदस्यका हिसावले सवै जिल्ला कमिटी लगभग टुंगिएका छन् । जिल्ला कमिटीको सदस्य संख्या ५५ र ४२ प्रतिशतकै आधारमा भागबन्डा गरिएको छ ।

जनवर्गीय संगठनः पूर्व एमाले १६, पूर्व माओवादी ६

नेकपाका २२ जनवर्गीय संगठनको भागबन्डामा तत्कालिन एमालेले १६ र तत्कालिन माओवादीले ६ ओटा जनवर्गीय संगठनको नेतृत्व गरेको छ । जनवर्गीय संगठनको नेतृत्वमा भने अन्य संगठनभन्दा तत्कालिन एमालेको वर्चस्व रहेको छ ।

विभागः पूर्व एमाले १८, पूर्व माओवादी १४

नेकपामा ३२ विभाग छन् । जसमा तत्कालिन एमाले १८ र तत्कालिन माओवादीले १४ विभागको नेतृत्व लिने गरी भागबन्डा टुङ्गिएको छ । त्यस्तै विभाग ३५ सदस्यीय रहने छ । जसमा तत्कालिन नेकपा एमालेका २० र तत्कालिन माओवादीका १५ नेता विभागको सदस्य रहनेछन् ।

जिल्ला इन्चार्जः पूर्व एमाले ४६, पूर्व माओवादी ३१

नेकपाले ७७ वटा जिल्ला इन्चार्जमा ४६ जिल्ला इन्चार्ज तत्कालिन एमालेले र ३१ जिल्ला इन्चार्ज तत्कालिन माओवादीको कोटामा परेको छ । जिल्ला पनि तत्कालिन एउटा पार्टीको इन्चार्ज भएको खण्डमा तत्कालिन अर्को पार्टीको सह–इन्चार्ज हुने छन् ।

आयोगःपूर्व एमाले २, पूर्व माओवादी १

नेकपामा रहेका ३ आयोग मध्ये २ आयोगको नेतृत्व तत्कालिन एमालेको भागमा परेको छ भने १ आयोगको नेतृत्व तत्कालिन माओवादीको कोटामा परेको छ । आयोग ३१ सदस्यीय बन्ने छ । जसमा तत्कालिन एमालेको कोटोबाट १८ र तत्कालिन माओवादीको कोटाबाट १३ सदस्य रहनेछन् ।

केन्द्रीय सल्लाहकार समितिः पूर्व एमाले १२१, पूर्व माओवादी १००

नेकपाको २२१ सदस्यीय केन्द्रीय सल्लाहकार समितिमा तत्कालिन एमालेबाट १२१ र तत्कालिन माओवादीबाट १०० सदस्य रहने छन् ।

जेष्ठ कम्युनिष्ट मञ्चः पूर्व एमाले ४६, पूर्व माओवादी ३१

नेकपाको २२१ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्चमा १२१ तत्कालिन एमाले र १०० तत्कालिन माओवादीका सदस्य रहने भएका छन् ।