सुशीला पौडेलको पहिलाे उपन्यास ‘तृषा’ सार्वजनिक

काठमाडाैँ, गीतकार तथा लेखिका सुशीला पौडेलको पहिलाे उपन्यास ‘तृषा’ सार्वजनिक गरिएको छ । शनिबार राजधानी एक कार्यक्रम माझ वरिष्ठ गीतकार तथा चलचित्रकर्मी यादव खरेलको प्रमुख आतिथ्यमा साे कृति विमाेचन गरिएकाे हाे । पूर्वमन्त्री तथा साहित्यकार डा. एसपी कोईराला, साहित्यकार भुवनहरी सिग्देल, लेखक एवं चलचित्रकर्मी प्रकाश सायमी, गीतगार डा. कृष्णहरि बराल, साहित्यकार गीता त्रीपाठीलगायतले उक्त कृतिकाे संयुक्त रुपमा विमाेचन गरेका हुन ।

कृतिबारे बाेल्दै साहित्कार भुवनहरि सिग्देलले लेखनमा लाग्न पुरुषलाई जति सजिलो छ महिलालाई त्यति नै गाह्रो रहेकाे बताए  । उनले पाैडेलकाे लेखन सरल रहेकाे समेत बताए। अर्का वक्ता डा कृष्णहरि बरालले पनि तृषामा सरल लेखन रहेकाे र रैखिक ढाँचामा वर्णनात्मक शैली अपनाइएकाे बताए ।

प्रेम, बन्धन, स्वतन्त्रता तथा धाेकाजस्ता विषयमा केन्द्रित रहेर वर्तमान समाजका विसंगति केलाएर लेखिएकाे तृषामा उपन्यासबारे बाेल्दै लेखिका पाैडेलले भनिन, ‘याे हाम्रै समाजमा देखिने भाेगिने विषयमा आधारित छ । एउटी नारीले समाजमा बाँच्ने क्रममा भाेगेकाे जिन्दगीको एउटा अंश यसमा छ । एउटा पुरुष भएर खुलेआम हिँडिरहँदा उसले एउटा पाटो त सबल बनाइरहेकाे हुन्छ, अर्को पाटो भने उसले कसरी बिर्सेकाे वा बेवास्ता गरिरहेकाे हुन्छ भन्ने मैले यहाँ देखाउन खाेजेकी छु ।’

मूलत: गीतकारकाे रुपमा परिचित पाैडेलले यसअघि गजल, कविता, मुक्तकलगायत विधामा पनि कलम चलाउनुभएकाे छ । तृषा उहाँकाे पहिलाे आख्यानात्मक कृति हाे ।

लेखक भुवनहरि सिग्देल र सम्पादन हाउसका दीपक नेपालले भाषा तथा सम्पादनकाे काम गर्नुभएकाे ‘तृषा’ उपन्यास शिखा बुक्सले प्रकाशन गरेकाे हाे ।