खबर

कविता

किन अडिन्छौ तिमी हिँड्दा हिँड्दै !
जाउ जाउ अगाडि जाउ अझै
जहाँ भेट्नु छ तिमिले
यो देश बोकिरहेका सहयात्रीलाई
र साथ दिनु छ उनिहरुलाई
कतै तिर्खाएका भए
पानी पिलाउनु
कतै भोकाएका होलान्
सातु जुटाउनु ।

पीडामा होलान् ,थकाईमा होलान्
एक सहमित्रको हैसियतले
तिमिले साहस जुटाईदिनु र भन्नु:
“हे मेरा मित्र हो
हामी थाक्नेबेला होईन हो

बोक्नु छ महान लक्ष्य र उद्देश्य
ठड्याउनु छ जीवनजस्तै घर
बसाउनु छ स्वर्णिम मनहरुको बस्ती
अनि जुग बाँचेका बुढा बा आमालाई
दिनु छ न्यानो ढाडस
सप्तरंगी रहर बोकेका नानिहरुलाई
पुर्याउनु छ मन पर्ने खेलौनाहरु
…र,देखाउनु छ भबिष्यका सु-मार्गहरु”

अनि,यो पनि भनिदिनु तिमिले:
“तिम्रो शरिरको एक पाटो बनेर बसेकी
तिम्री जीवनसंगिको नफाट्दै गुन्युको एक फेर
नच्यातिदै चोलिको सप्को
नहर्दै उनको यौवनको रंग कसैले
पुग्नुछ गन्तब्यमा र,
फेर्नु छ लामो सास यात्रा सफरको
पोख्नु छ पीडा आमाको छातिमा
र…….निदाउनु छ प्रियाको काखमा
फेरि अर्को सुनौलो बिहानको पर्खाईमा” ।