एक पदचाप

कविता

पाइलाहरु रोकिने छैनन् ,
किञ्चित पनि छेकिने छैनन् ।

तय हुँदैछ गोरेटो
यस्तो गोरेटो, जो कोर्नु पर्नेछ आफैंले,
छाडिनेछन कहिल्यै नमेटिने पदचापहरु
पछाडि लाग्नेहरु थाक्ने छैनन कहिल्यै ।

त्यो दुरको सुदुरबस्ती
जहाँ अट्नेछन हरेक रङ्ग
जहाँ अट्नेछन हरेक जाति
जहाँ अट्नेछन हरेक लिङ्ग
हुनेछैनन् काल्पनिक भौगोलिक रेखा
र धार्मिक रेखा
अनि बन्नेछ एक पुर्ण सुसुन्दर सभ्यता ।

आफैंमा पुर्ण-सम्पुर्ण,
यो गोरेटो साँघुरो लाग्न सक्छ
यो बाटो नानो लाग्न सक्छ
लाग्न सक्छ कोरा कल्पना, दिवाको सपना ।

चुपचाप सहित
हल्लाखल्ला रहित
के हरेक हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुन्न र ?
के प्रत्येक विशाल, हरेक सुक्ष्मबाट दरिइँदै भरिन्न र ?

साथी !
म यस समय
एक गोरेटोमा
एक कविताको
एक पदचाप छोड्ने यत्न गरिरहेछु ।