एसीसी यू–१९ क्रिकेट : नेपालको जीत, चीन १० विकेटले पराजित

काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनविरुद्ध शानदार जीत दर्ता गरेको छ। आज विहान भएको खेलमा चीनलाई नेपालले १० विकेटले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको चीनले २३ ओभर १ बलमा सबै विकेट गुमाउँदै ५३ रन मात्रै बनायो। चीनका दुई खेलाडीको समान १३ रन नै सर्वाधिक रह्यो।

अन्य कुनै खेलाडीले दोहोरो अंक बनाएनन्। चीनको पालीलाई ध्वस्त पार्न नेपालका सागर ढकालले ६ विकेट लिए भने तिलक राजभण्डारीले ३ विकेट लिए भने कमलसिंह ऐरीले एक विकेट चट्काए। ५४ रनको झिनो लक्ष्यसहित मैदानमा आएको नेपालका ओपनरद्वय पवन शर्राफ र रित गौतमले पाँचै ओभरमै लक्ष्य भेट्टाए। रित गौतमले १० रन बनाउँदा पवन शर्राफले ४६ रन बनाए उनले २१ बलको सामना गर्दै ६ चौका र तीन छक्का हिर्काए।

मलेसियामा जारी खेलमा नेपाल समूह ‘ए’ मा रहेको ५। नेपालको समूहमा नेपाल, सिंगापुर र चीन रहेका छन्। नेपालको समूहमा रहेको म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएपछि समूह ‘ए’ मा ३ टिम मात्र छन्। यस्तै अर्को समूहमा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड छन्। दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्।