नेपालगञ्ज उपमहानगरपालिकाको बजेट : २ अर्ब २८ करोड

विकासको उत्कृष्ट शहर बनाउने उद्घोष

बाँके, नेपालगञ्ज उपमहानगरपालिकाको आज भएको पाँचौँ नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगरउपप्रमुख उमा थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड ४७ लाख ७२ हजार र पूँजीगततर्फ रु एक अर्ब चार करोड ३७ लाख ८१ हजार विनियोजित बजेट प्रस्तुत गरेकी हुन् । गत आव २०७४/७५ मा आन्तरिक स्रोततर्फ रु १४ करोड ११ लाख आय अनुमान गरिएकोमा हालसम्म रु १२ करोड ११ लाख ३७ हजार राजश्व असुल भई करीब ८५ दशमलव ८२ प्रतिशत लक्ष्य हासिल भएको बजेटमा उल्लेख छ ।

हालसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गर्दै प्रस्तुत बजेटमा आन्तरिक स्रोत अनुमानको ९० प्रतिशतभन्दा बढी लक्ष्य प्राप्ति हुने पनि अनुमान गरिएको छ । आगामी आगामी आवको आन्तरिक स्रोतको आय अनुमान रु १७ करोड ४१ लाख प्रस्ताव गरिएको छ । आगामी आवमा एशियाली विकास बैङ्क, नगरविकास कोष र बाह्य स्रोतबाट प्राप्त हुने ऋण तथा अनुदानहरु रु एक अर्ब आठ करोडसमेत गरी कूल आय रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजार हुने अनुमान गरिएको हो ।

नगरप्रमुख डा.धवलशम्शेर राणाले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापामगरले पेश गर्नु भएको बजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको छ । नगरप्रमुख डा राणाले आव २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई विकासको उत्कृष्ट शहर बनाउने उद्घोष गरे ।