आज विश्व योग दिवस ‘मुटुका लागि योग’ नारासहित यसरी मनाइदैछ विश्वभर

के हो योग ?

काठमाडौं ,आज विश्व योग दिवस । ‘मुटुका लागि योग’ भन्ने नाराका साथ विश्वभर मनाइदै छ । हरेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइन्छ । भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउने अभियानलाई संयुक्त राष्ट्र संघको साधारणसभाले ११ डिसेम्बर २०१४ मा मान्यता दिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि २०१५ देखि २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो ।

बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिएको छ । पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने चिकित्सकहरु बताउँछन् ।

के हो योग ?

व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव छैन । सजिलो भाषामा भन्दा योग भनेको मनलाई शरीरसँग जोड्नु हो । मनलाई आत्मासँग जोड्नु नै योग हो । योग भनेको साधना हो।

योगको उत्पत्ति संस्कृत शब्द ’युज’ बाट भएको मानिन्छ । युजको अर्थ ’जोड्नु’ वा ’मिलाउनु’ हो । यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माबीचमा संयोग स्थापित गर्नु नै योग हो । विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु, आत्म साक्षात्कार गर्नु नै योग हो । हामी सबै मनुष्यभित्र आत्मा छ । त्यही आत्मालाई परमात्मासँग मिलाउनु नै योग हो ।

यस्ता छन योग गर्नुको फाइदा 

योग अभ्यासले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । बुढेसकालमा पनि जवान झैं स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ । योगले तनाव भगाउँछ । मीठो निद्रा लगाउँछ । भोक जगाउँछ र पाचन प्रक्रियालाई सही ढंगबाट चलाउँछ । प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ ।

मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने योग गुरुहरुको भनाइ छ ।