प्रहरी हवल्दारसहित तीनजना पक्राउ

सिरहा,भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको माग गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ ।

सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज१ज ४०२ नम्बरको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान छुटाइदिन्छु भन्दै बार्गेनिङ गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हवल्दार अशोककुमार यादव, गाडी चालक शिवशङ्कर साह र रञ्जित साहलाई पक्राउ गरेको हो ।

ट्राफिक चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार यादवले जाँच गर्ने क्रममा भारतको जयनगरबाट लुकाइछिपाई ल्याइएको सामान छुटाइदिन्छु भन्दै गाडी चालक साहसँग हवल्दार यादवले रकमको माग गरिरहेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।