पूर्वशिक्षामन्त्री पौडेलको हृदयघातका कारण निधन

पार्थिव शरीर दिनभर श्रद्धाञ्जलीका लागि राखिने

चितवन ,पूर्वशिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ। आफ्नै निवास चितवनको माडी नगरपालिका–३ वसन्तपुर रमाइलो डाँडामा रहेका बेला उनलाई हृदयघात भएको थियो।

शुक्रबार बिहान ६ः४५ बजे हृदयघात भएपछि स्थानीय बगौडा अस्पतालमा लैजाँदै गर्दा उनको करिब ७ बजे बाटोमै निधन भएको पारिवारिक स्राेतले जानकारी दियाे ।  पारिबारिक स्राेतका  अनुसार पौडेलको पार्थिव शरीर अहिले वसन्तपुरको चौरमा श्रद्धाञ्जलीका लागि राखिएको छ।

नेकपाका केन्द्रीय प्रतिनिधि टोली माडी आउँदै गरेको जनाइएको छ। परिवारको सल्लाहअनुसार दिनैभरी पौडेलको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने तयारी भएको छ।

अन्तिम संस्कार कहिले गर्ने भन्नेबारे निर्णय भइनसकेको जनाइएको छ। पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन्। २०२३ साल कात्तिक ४ मा जन्मिएका पौडेलका श्रीमती, बुबा–आमा र २ छोरी छन्।