एकै ठाउँमा बसे मोदी र इमरान , तर बोलेनन्

एजेन्सी, को-अपेरसन सम्मेलनमा भाग लिन किर्गिस्तान पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र भारतिय प्रधानमन्त्रि नरेन्द्र दामाेदरदास मोदीसँग एउटै डिनर टेबलमा बसे तर कुराकानी भने गरेनन्।

भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार सांघाई  डिनरका लागि राजधानी बिश्केकको फ्रुन्जी रेस्टुरेन्टको टेबलमा आमनेसमाने भएका मोदी र खानले त्यहाँ कुनै प्रसन्नता साटासाट गरेको देखिएन।

रात्रि भोजनपश्चात् किर्गिज राष्ट्रिय संगीत समूहले आयोजना गरेको गाला कन्सर्टमा पनि मोदी र खान अगाडिको पंक्तिमा बसेका थिए। उनीहरुका बीचमा अरु ७ नेता थिए। त्यहाँ पनि दुई प्रधानमन्त्रीबीच कुनै संवाद भएन्।

तर यो दुई वर्षअघिको घटना भन्दा बिल्कुल भिन्न हो। सन् २०१५ मा मोदी पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफको जन्मदिनमा सहभागी हुन ‘सरप्राइज्ड’ भ्रमण गरेका थिए। सरिफलाई उनले जन्मदिनको शुभकामना साटेका थिए।

लाहुर भेटघाटको करिब १७ महिनापछि काजाकस्तानमा भएको १७ सांघाई सम्मेलनमा पनि सरिफ र मोदीले भेटवार्ता गरेका थिए। त्यहाँको एक नाचघरमा भएको सांस्कृतिक कार्यक्रममा मोदीले प्रधानमन्त्री सरिफ र उनको परिवारको स्वास्थ्य अवस्थाका बारेमा सोधखोज गरेका थिए।

सन् २०१६ मा भारतको उरीमा भएको आक्रमणमा १९ भारतीय सैनिक मारिएका थिए। त्यसयता दुई देशबीचको सम्बन्ध निकै बिग्रेको छ। उक्त आक्रमणको जिम्मा आतंकवादी संगठन जैश-ए- मोहम्मदले लिएको थियो।

उक्त संगठनलाई पाकिस्तानले संरक्षण गरिरहेको भारतको आरोप छ। त्यही समूहले नै पछिल्लो पटक गत १९ फ्रेब्रुअरीमा आक्रमण गरी ४० भारतीय सिपाहीको ज्यान लिएको थियो। त्यसको बदलामा भारतले पाकिस्तानको बालाकोटमा ‘सर्जिकल’ आक्रमण गरेको थियो।

यी दुई घटनाले चिसिएको दुई देशको सम्बन्ध अझै सामान्य अवस्थामा आउन सकेको छैन। मोदीले आफ्नो दोस्रो कार्यकालको सपथ ग्रहण समारोहामा समेत पाकिस्तानी प्रधानमन्त्री खानलाई बोलाएनन्।

अघिल्लो कार्यकालमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) का नेतालाई बोलाएका मोदीले यसपालि भने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक) का नेतालाई बोलाएका थिए, जहाँ पाकिस्तानको उपस्थिति रहेन। (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)